काठमाडौं । बजाज अटोले सन् २०२२ अप्रिलबाट उत्पादन बन्द गरेको पल्सर २२० एफको उत्पादन फेरी सुरु गर्ने भएको छ । भारतीय बजारको लागि उत्पादन बन्द भएपनि पल्सर २२० एफ निर्यातको लागि भने उत्पादन भइरहेको थियो ।
भारतमा पल्सर सिरिजको एफ २५० सार्वजनिक गरेसँगै २२० एफको उत्पादन बन्द गरिएको थियो । तर, बजाजले पुनः यसलाई भारतमा पनि विक्री गर्ने लक्ष्यसहित अपग्रेड गरेर ल्याउन लागेको हो ।
बजाजले नयाँ पल्सर २२० एफको भारतमा बुकिङ खुल्ला गरेको छ । सन् २००७ देखि उत्पादन भएको पल्सर २२० एफमा केही परिमार्जन भएर आउन लागेको हो । अप्रिल २०२२ मा भारतको लागि उत्पादन बन्द भएपछि पनि ग्राहकले निरन्तर यसको खोजी गरेको भन्दै बजाजले यसलाई पुनः बजारमा ल्याउन लागेको हो ।
कम्पनीले यसको डिजाइनमा कुनै परिवर्तन गरेको छैन । पहिलेकै भी आकारको हेडल्याम्प, सेमी फियर्ड डिजाइन, एलइडी हेडलाईट, स्प्लीट सिट, क्लीप अन ह्याण्डलबार जस्ता फिचर प्रयोग भएको छ ।
यसमा इन्जिन पनि पहिले कै पाउन सकिन्छ । यसमा रहेको सिंगल सिलिण्डर डिटिएस-आई इन्जिनले अधिकतम २१ ब्रेक हर्सपावर र १९ एनएम पीक टर्क प्रदान गर्छ । पल्सर २२० एफको अगाडि टेलिस्कोपीक फर्क र पछाडि ट्वीन सक अब्जर्बर पाउन सकिन्छ ।
दुबै चक्कामा डिस्क ब्रेक र सिंगल च्यानल एबीएसले सुरक्षामा पनि निकै राम्रो बनाएको मान्न सकिन्छ । नयाँ भर्सनमा ग्राहकले नयाँ कलर छनोट पाउने अनुमान गरिएको छ ।
बजाजको आधिकारीक विक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले पल्सर मोटरसाइकल नेपालमा विक्री गर्दै आएको छ । नेपालमा पनि पल्सर २२० एफ निकै राम्रो संख्यामा विक्री हुँदै आएको छ ।

