नयाँ ब्राण्डकाे स्कुटर नेपालमा, ३ लाख १७ हजारमा डबल ब्याट्री भएको स्कुटर

काठमाडौं । नयाँ ब्रान्डको चिनियाँ इलेक्ट्रीक स्कुटर नेपाल भित्रने भएको छ । चीनमा उत्पादन हुने सुनरा ब्रान्डको दुई इलेक्ट्रीक स्कुटर नेपाल भित्रने भएको हो ।

बेनेली तथा किवे मोटरसाइकल विक्री गर्दै आएको केटीएम इन्टरनेशनल ट्रेडिङ अन्तर्गतको इटालीका मोटोवर्कस्ले सुनरा ब्रान्ड नेपाल भित्र्याउने भएको हो । यही फेब्रुअरीको अन्तिम सातादेखि सुनरा रोबो एस र हक को दुई भेरियन्टका स्कुटर विक्री सुरू गर्ने भएको हो ।

कम्पनीले पहिलो चरणमा नेपाल भित्र्याउने तयारी गरेको रोबो एसमा ३ किलोवाट क्षमताको मोटर रहेको छ । यसमा ७२ भोल्ट २० एम्पीयर आवरको लिथियम आयन ब्याट्री उपलब्ध छ । यसलाई एक पटक फुलचार्ज गरेर १३५ किलोमिटरसम्म गुडाउन सकिन्छ ।

कम्पनीले रोबो एसको मूल्य मूल्य ३ लाख ७९ हजार रुपैयाँ निर्धारण गरेको छ ।

त्यस्तै, अर्को मोडल हक दुई भेरियन्ट ब्याट्री अप्सनमा आउने कम्पनीले जनाएको छ । हक सिंगल ब्याट्री तथा डबल ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । हकमा १.८ किलोवाट क्षमताको मोटर रहेको छ । यसलाई एक पटकको फुलचार्जमा ६५ देखि १३० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।

हकको सिंगल ब्याट्री अप्सको मूल्य २ लाख ३६ हजार रुपैयाँ र डबल ब्याट्री अप्सनको मूल्य ३ लाख १७ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सुनरा रोबोमा तीन राइड मोडलका साथै रिभर्स तथा क्रुज कन्ट्रोल मोड उपलब्ध छ । यसमा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ । त्यसैगरी, यसमा डबल डिस्क ब्रेक, कम्बाइन ब्रेकिङ सिस्टम, फिंगर प्रिन्ट स्टार्ट बटन जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top