बजाजको सर्वाधिक लोकप्रिय मोटरसाइकल पल्सर २२० एफमा दिएको इन्जिन ११ वर्षपछि परिमार्जन हुने भएको छ । भारतमा लागु हुने भएको नयाँ प्रदुषण मापदण्ड बीएस६ अनुसारको नयाँ इन्जिन दिन लागेको हो ।
एक दशकसम्म लगातार बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बजाज पल्सर २२० बजाज फेमिली कै सफल मोडल हो । यसको बीएस ६ इन्जिन युक्त मोडलको टेष्टिङ भइरहेको तस्विरहरु बाहिर आइरहेको छ ।
टेष्टिङको क्रममा देखिएको पल्सर २२०एफमा इन्जिनको अलावा अन्य सामान्य परिवर्तन मात्र गरेको देखिएको छ । ११ बर्ष पुरानो मोडल, पल्सर सिरिजको सबैभन्दा ठुलो क्षमताको इन्जिन, प्रोजेक्टर हेडल्याम्प, टल विन्डस्क्रीन, सेमी फियरिङ डिजाइन, स्प्लिट सिट, जस्ता फिचरलाई निरन्तरता दिइएको छ ।
यही डिजाइन युवावर्गमा सफल तथा लोकप्रिय रहेको भन्दै यसमा कुनै परिमार्जन आवश्यक नरहेको कम्पनीको दाबी छ ।
बीएस ६ मान्यता अनुसार यसमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन (एफआई) इन्जिन रहेको छ । मोटरसाइकलमा १७ इन्च अलोय ह्वील रहेको छ भने दुबै ह्वीलमा डिस्क ब्रेक दिइएको छ । फ्रन्टमा २६० एमएम तथा रियरमा २३० एमएमको डिस्क ब्रेकसहित सिगंल च्यानल एबीएसमा पल्सर २२० एफ उपलब्ध रहेको छ ।
आगामी हप्ता सार्वजनिक हुने अनुमान गरिएको बजाज पल्सर २२० एफ नेपाली बजारमा समेत लोकप्रिय मोटरसाइल रहेको छ । भारतीय बजारमा सार्वजनिक भए पश्चात् यो मोडल नेपाली बजारमा समेत भित्रनेछ ।