काठमाडौं । बजाज मोटरसाइकलको पल्सर सिरिजमा दुई नयाँ मोडल थप भएसँगै पल्सर रेञ्ज बढ्दै गएको छ । पल्सर २५० सिरिजमा दुई मोटरसाइकल एकै पटक बजारमा ल्याएको कम्पनीले यी दुई मोडलमा धेरै कुरा समान दिएको छ ।
एउटै इन्जिन र बढी स्टाइल रहेका यी दुई मोटरसाइकलमा उस्तै एग्जस्ट, इन्ट्रुमेन्ट कन्सोल, सिट र रियर साइड उस्तै छ । कम्पनीले यसको हेडलाइट पनि उस्तै दिएको भएपनि डे टाइम रनिङ लाइटको प्लेसमेन्टमा भने भिन्नता पाउन सकिन्छ ।
दुबै मोटरसाइकलमा समान टायर साइज, ब्रेकिङ सिस्टम र एबीएस उपलब्ध रहेको भएपनि राइडिङ पोजिन, ह्याण्डलबार र फ्रन्ट डिजाइन भने फरक रहेको छ । पल्सर एन २५० नेकेड डिजाइनमा उपलब्ध छ भने, एफ २५० सेमी फियड डिजाइनमा उपलब्ध रहेको छ ।
भारतीय बजारमा अक्टोबर २८ मा सार्वजनिक भएको मोटरसाइकल अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपाल आउने अनुमान गर्न सकिन्छ । तर, यसको विषयमा आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले कुनै जानकारी दिएको छैन ।

कम्पनीले ल्याउने बजार पल्सर एन २५० को सिधा प्रतिस्पर्धा यामाहा एफजेड २५ सँग हुने देखिन्छ भने एफ २५० को सिधा प्रतिस्पर्धा सुजुकी जिक्सर २५० सँग हुने देखिन्छ ।
सिल्क हेडल्याम्प क्लष्टर, एलइडी डेटाइम रनिङ लाइट, एलइडी प्रोजेक्टर हेडल्याम्प, सार्प लुकिङ बडी प्यानल, सेमी डिजिटल क्लष्टर जस्ता फिचरले नयाँ पल्सर २५० सिरिजलाई उत्कृष्ट बनाएको छ ।
यी दुई मोटरसाइकलको मूल्य भारतमा २ हजार रुपैयाँ फरक रहेको छ । नेपालमा भने यी दुई मोटरसाइकलको मूल्यमा करिब १० हजार रुपैयाँको फरक रहन सक्छ । नेपालमा यी दुई मोटरसाइकलको मूल्य ४ लाख १० हजारदेखि ४ लाख २० हजारसम्म पर्ने अनुमान गरिएको छ ।

