यी ५ कारण नेपालमा पनि चर्चामा पल्सर एनएस १२५

काठमाडौं । बजाजका मोटरसाइकल नेपालमा त्यसैपनि सधै चर्चामा रहने गरेका छन् । त्यसमा पनि पल्सर सिरिज नेपालमा धेरै रुचाइएको मोडल हो । यस्तोमा पल्सर एनएसको सबैभन्दा सानो इन्जिन भएको एनएस १२५ नेपालमा प्रतिक्षित मोडल हो ।

गतहप्ता भारतमा चुपचाप सार्वजनिक भएसँगै पल्सर एनएस १२५ अहिले धेरै चर्चामा रहेको मोटरसाइकल हो । एनएस सिरिजमा यसअघि १६० सीसीको मोटरसाइकल इन्ट्री लेवलमा रहेको थियो भने अब १२५ सीसीमा आएको छ । यसको मूल्य पनि एनएस सिरिजमा सबैभन्दा कम रहेको छ ।

नेपालको लागि बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले यसलाई नेपालमा ल्याउने वा नल्याउने विषयमा अहिलेसम्म कुनै आधिकारीक जानकारी दिएको छैन । यद्यपी अहिलेसम्म कम्पनीले भारतमा भनेका अधिकांश मोडल नेपाल ल्याएको विगतलाई हेर्दा यो मोटरसाइकल नेपाल आउने अनुमान गर्न सकिन्छ ।

१. डिजाइनः पल्सर एनएस १२५ को डिजाइन हुवहु एनएस १६० जस्तै रहेको छ । यसमा प्रयोग भएको सिग्नेचर हेडल्याम्प, एलइडी टेल लाइट, निकै आकर्षक इन्धन ट्याङ्की, पाइलट ल्याम्प जस्ता फिचरले गाडीलाई आकर्षक बनाएको छ । साथै, कम्पनीले यसलाई विभिन्न आकर्षक ४ कलरमा बजारमा ल्याएको छ ।

२. इन्जिनः सबैभन्दा सानो इन्जिन भएको पल्सर एनएस १२५ मा १२४.४५ सीसी क्षमताको सिंगल सिलिण्डर, एयरकुल्ड इन्जिन प्रयोग भएको छ । यसमा रहेको इन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स प्रयोग गरिएको छ ।

३. मुख्य फिचरः एनएस १२५ मा सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, हेलोजीन हेडल्याम्प, बल्ब इन्डिकेटर, पाइलोट ल्याम्प, सिबीएस ब्रेकिङ सिस्टम पाउन सकिन्छ ।

४. फ्रेम र तौलः बजाजले पल्सर एनएस १२५ लाई पेरिमिटर फ्रेममा तयार गरेको छ । यसको कुल तौल १४४ किलोग्राम रहेको छ । अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन पाउन सकिन्छ ।

५. मूल्यः बजाज पल्सर एनएस सिरिजकै सबैभन्दा सस्तो मूल्य रहने यो मोटरसाइकल नेपाली बजारमा आउने हो भने यसको मूल्य २ लाख ६० हजार हाराहारी रहने अनुमान गरिएको छ ।


Back_to_top