काठमाडौं । यदि तपाईं नयाँ सवारी साधन किन्ने योजनामा हुनुहुन्छ भने दुई कारणले अहिले सबैभन्दा उपयुक्त समय हुनसक्छ ।
पहिलो, बैंकको ब्याजदर ५ वर्ष यताकै सस्तो भएको छ । किस्ताबन्दीमा सवारी खरिद गर्नेका लागि ब्याजदरले निकै भूमिका खेल्छ । सस्तो ब्याजदर गाडी किन्दा लागत घट्छ भने महँगोमा किन्दा बढ्छ । सामान्यतया सवारी कर्जा ५ देखि ७ वर्षका लागि पाइने हुँदा सस्तो ब्याजदरमा कर्जा लिँदा ५ वर्षसम्म ब्याजखर्च कम हुन्छ । यद्यपि, बेसरेट बढेसँगै बैंकहरूले ब्याजदर बढाउँदै लैजान्छन् ।
दोस्रो, तीन साताको अन्तरमा दुई वटा अटो शो आयोजना हुँदै छ । जहाँ ३ दर्जन बढी नयाँ मोडलका गाडी सार्वजनिक हुँदैछ । ग्राहकले रोजी रोजी आधुनिक कारहरू किन्ने अवसर पाउने छन् । साथै, बिक्रेताहरूले ग्राहलाई आकर्षित गर्न विशेष डिस्काउन्ट समेत दिन सक्नेछन् ।
अधिकांश सवारी साधन किस्ताबन्दीमै किन्ने हुँदा ब्याजदरका हिसाबले यो निकै उपयुक्त समय हो । विगत ३ वर्षको तुलनामा अहिले ब्याजदर झन्डै आधाले सस्तिएको छ । ३ वर्ष अघि १५/१६ प्रतिशतसम्म पुगेको बैंकको ब्याजदर हाल औसतमै ८ प्रतिशतभन्दा तल झरेको छ ।
बैंकहरूको ब्याजदर सस्तिनुको मुख्य कारण हो बैंकहरूको बेसरेट घट्नु । बैंकहरूले लगातार निक्षेपको ब्याजदर घटाएसँगै लागत घट्न गई हाल औसत बेसरेट ६.१० प्रतिशतमा झरेको छ । यो २०७७ यताकै सस्तो हो । बेसरेट घटेसँगै कर्जाको ब्याजदर पनि निकै सस्तिएको छ ।
बैंकहरूले हाल बेसरेटमा अधिकतम ५ प्रतिशत प्रिमियम जोडर कर्जा लगानी गर्छन् । न्यूनतम प्रिमियम भने ग्राहकले गर्नसक्ने बार्गेनिङमा भर पर्छ । हाल केही बैंकले न्यूनतम ०.५ प्रतिशत प्रिमियममै पनि कर्जा दिइरहेको पाइन्छ ।
हाल बैंकिङ प्रणालीमा ६ खर्ब रुपैयाँ बढी तरलता छ । आर्थिक शिथिलतका कारण कर्जाको माग नहुँदा पैसा बैंकमै थुप्रिएको हो । हाल बैंकहरूले कर्जाको माग आउँदा न्यूनतम ०।५ प्रतिशतदेखि २र३ प्रतिशत प्रिमियममै ऋण दिइरहेका छन् । अहिले अधिकांश बैंकबाट ६ देखि ७।५८ प्रतिशत हाराहारी ब्याजदरमा ऋण पाइने अवस्था छ ।
कुन बैंकबाट पाइन्छ सबैभन्दा सस्तोमा ऋण ?
कुन बैंकबाट सस्तोमा ऋण पाइन्छ भन्ने कुरा बैंकहरूको बेसरेटमा भर पर्दछ । तुलनात्मक रूपमा कम बेसरेट भएका बैंकहरूले सस्तोमा ऋण दिन सक्छन् भने बेसरेट धेरै भएका बैंकको ब्याजदर महँगो हुन्छ ।

ऋणको प्रकृति अनुसार बैंकहरूले प्रिमियम दर कम र धेरै जोड्ने गरेका छन् । त्यसैले कर्जाको ब्याजदर ब्याजदर सस्तो र महँगो तय गर्छ । अहिले वाणिज्य बैंकहरूले आधारदरमा न्यूनतम ०.५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण दिँदै आएका छन् ।
वाणिज्य बैंकहरूले साउनका लागि सार्वजनिक गरेको बेसरेट अनुसार २० मध्ये ९ वटा बैंकको बेसरेट ७ प्रतिशतभन्दा तल झरेकेा छ । जसमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको बेसरेट सबैभन्दा कम ४.८९ प्रतिशत मात्रै छ । यस बैंकले न्यूनतम १ प्रतिशत मात्रै प्रिमियम जोडेर कर्जा दिएमा ६ प्रतिशतमै ऋण पाउने अवस्था छ ।
त्यस्तै, विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्डको पनि बेसरेट ४.९ प्रतिशत मात्र छ । यद्यपि, हाल चार्टर्डले सवारी साधन किन्न कर्जा दिँदैन ।
त्यस्तै, एभरेष्ट, नेपाल, नेपाल इन्भेष्टमेन्ट मेगा, नबिल र ग्लोबल आइएई बैंकको बेसरेट ६ प्रतिशतभन्दा कम छ । यी बैंकबाट पनि न्यूनतम १ प्रतिशत प्रिमियम जोडेर ७ प्रतिशत हाराहामी कर्जा पाइने अवस्था छ ।
त्यस्तै, कृषि विकास, सानिमा, माछापुच्छ्रे, नेपाल एसबीआई, सिद्धार्थ र सिटजन्स बैंकको बेसरेट साढे ६ प्रतिशतभन्दा कम छ । यी बैंकबाट पनि साढे ७र८ प्रतिशतमा सवारी कर्जा पाउन सकिन्छ ।
लक्ष्मी सनराइज, कुमारी, प्राइम कमर्शियल, हिमालयन र प्रभु बैंकको बेसरेट ६।५ देखि ७ प्रतिशत छ । २० वटा बैंकमध्ये एनआइसी एशियाको मात्रै बेसरेट ७ प्रतिशत माथि छ । यसको बेसरेट ७।१८ प्रतिशत छ । तुलनात्मक रुपमा एनआइसीबाट कर्जा लिँदा ब्याजदर केही महँगो पर्छ ।

