बेनी-जोमसोम-कोरला सडक खुलाउन ड्रोनमार्फत डिजेल ढुवानी

काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनी-जोमसोम-कोरला सडक खुलाउने काम तीव्र बनाइएको छ ।

अधिकांश पहिरो हटाइए पनि म्याग्दी खण्डको ८ ठाउँमा सडक पूरै बगाएको छ । ती ठाउँहरुमा अहिले धमाधम नयाँ ट्रयाक निर्माण, भित्तो कटान र वाल निर्माणको काम भइरहेको हो ।

हाल दैनिक १ दर्जन बढी उपकरण प्रयोग गरी काम भइरहेको छ । एस्काभेटर, डोजर लगायत उपकरणका लागि इन्धन ढुवानीमा समस्या भएपछि ड्रोनमार्फत डिजेल ढुवानी गरिएको छ ।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालका अनुसार नेपाली सेनाको सहयोगमा म्याग्दीको रघुगंगा गाउँपालिका-२ स्थित बैसरी (कुनौटो) बाट बेगखोलासम्म करिब ४०० लिटर डिजेल ड्रोनमार्फत पुर्याइएको हो।

सडक अवरुद्ध भएपछि निर्माण तथा मर्मत कार्यमा प्रयोग हुने उपकरणका लागि इन्धन आपूर्तिमा समस्या देखिएको थियो। ड्रोनमार्फत इन्धन पुर्याएपछि महभीर, भीरकाटे र पोखरेबगर क्षेत्रमा संचालित सडक निर्माण तथा मर्मतको कामलाई निरन्तरता दिन सहज भएको मन्त्री लम्सालले जानकारी दिए ।

बाढीबाट क्षतिग्रस्त सडक खण्डमा पुनःनिर्माण तथा मर्मतको काम जारी रहे पनि सडक पूर्ण रूपमा संचालनमा आउन सकेको छैन । घासा कोरला र मालढुंगा बेनी खण्ड संचालनमा आइसकेको छ । म्याग्दीको करिब १५ किमी खण्ड आगामी शनिबारसम्म संचालनमा ल्याउने लक्ष्य राखिएको छ ।


Back_to_top