‘भ्यालू फर मनी’ मानिने ३ प्रिमियम मोटरसाइकल, कुनमा के फिचर ?

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२५ सुरु भएको छ । सन् २०२४ नेपाली अटोमोवाइल क्षेत्रमा दुई पाङ्ग्रे सवारी साधनको लागि ठिकठाक वर्ष बन्यो । कोभिड १९ को विश्वब्यापी प्रभावसँगै थलिएको अटो बजार बिस्तारै चलायमान हुन थालेको हो ।

बजारमा निकै चहल पहल बढाउने गरी आएका नयाँ ब्राण्ड र नयाँ मोडलहरुले ग्राहकको ध्यान खिचे । साथै, दुई वर्षदेखि विवादमा रहेको हिरो मोटरसाइकल पुनः बिक्री सुरु भयो । एक वर्षको अवधिमा एक दर्जनभन्दा धेरै मोडलका बजारमा आए ।

बढ्दो नयाँ मोडलर ब्राण्डको आयातसँगै मूल्यका हिसावले पनि उत्कृष्ट लाग्ने मोटरसाइकल नेपाली बजार प्रबेश गरे । यस्तोमा हामीले अहिले बजारमा उपलब्ध फिचर र मूल्यलाई मिलाएर हेर्दा लाग्ने ‘भ्यालू फर मनी’ मोडलका विषयमा यहाँ चर्चा गर्दैछौं ।

अहिले बजारमा रहेका भ्यालू फर मनी मोटरसाइकल के आधारमा तय गर्ने भन्ने बारेमा स्पष्ट हुन जरुरी छ । त्यसैले कुनै पनि समान वा वस्तूको मूल्य, त्यसको गुणस्तर, त्यसको उपयोगिता र उस्तै अर्को उत्पादनसँगको तुलना जस्ता विषयमा अध्यन गरेर ‘भ्यालू फर मनी प्रोडक्ट’ छनोट गरेका छौं ।

मोटरसाइकल वा स्कुटरको सन्दर्भमा हामीले तिरेको पैसामा पाइने आधुनिक फिचर, बिक्रीपछिको सेवा र गुणस्तरलाई आफुले तिरेको मूल्यले सहि ठहर्याउँछ भने त्यसलाई भ्यालू फर मनी मान्नुपर्छ ।

३. हिरो एक्सपल्स २०० फोर भी प्रो

एक्सपल्स २०० फोर भी प्रो नेपाली बजारमा ४ लाख ८४ हजार ९०० रुपैयाँ तोकेर नाडा अटो शो २०२४ बाट बिक्री सुरु भएको हो । यो सेग्मेन्टमा नेपालमा एक्सपल्स २०० फोर भी प्रोको प्रतिस्पर्धी नै छैन भन्दा फरक पर्दैन ।

बजारमा यामाहा, होन्डालगायत ब्राण्डले यो सेग्मेन्टमा मोटरसाइकल बिक्री गर्दै आएपनि एक्सपल्सको तुलनामा अन्यको मूल्य झन्डै दोब्बर पर्छ ।

एक्सपल्स २०० फोर भीको को तुलनामा प्रो मोडल अझै अफरोड क्षमता वृद्धि भएर आएको हो । यसमा भएको लङ ट्राभल सस्पेन्सन, ह्याण्डलबार रेजर र यसको ग्राउन्ड क्लियरेन्सले अफरोड क्षमतामा वृद्धि भएको छ । यसको मूल्य, फिचर र सर्भिसले हिरो एक्सपल्स २०० फोर भी प्रोलाई २०२४ मा नेपाल आएको भ्यालु भर मनी मोटरसाइकल भन्न सकिन्छ ।

एक्सपल्स २०० फोर भी प्रोमा बीएस ६ फेज टू इन्जिन प्रयोग भएको छ । यसले फोर भी रेगुलर मोडलको तुलनामा केही बढी पावर प्रदान गर्छ ।

हिरो एक्सपल्स २०० फोर भी प्रोमा १९९.६ सीसी सिंगल सिलिन्डर, आयल कुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले ८५०० आरपीएममा १८.९ हर्ष पावरका साथै ६५०० आरपीएममा १७.३५ हर्षपावर जेनेरेट गर्छ ।

५ स्पीड गियरबक्स जडान भएको मोटरसाइकलमा दुबै चक्कामा डिस्क ब्रेक र सिंगल च्यानल एबीएस, मोनोशक सस्पेन्सन, एलइडी हेडलाइट जस्ता फिचर छन् ।

२. रोयल इनफिल्ड हिमालयन ४५०

नेपालमा बहुप्रतिक्षित रहेको हिमालयन ४५० नाडा अटो शो २०२४ मा सार्वजनिक भएको हो । यसले बजारमा जति चर्चा पाउनु पर्ने हो, त्यति पाएको सुनिदैन ।

प्रिमियम एड्भेन्चर सेग्मेन्टमा उपलब्ध हिमालयन ४५० मोडल हिमालनको लिगेसी बोकेको मोटरसाइकल हो । यसलाई आधिकारीक बिक्रेता अल्फा अटो मोटिभले ९ लाख ९८ हजार सुरुवाती मूल्य तोकेर बिक्री सुरु गरेको थियो ।

यो सेग्मेन्टमा सीएफ मोटो, होन्डा, बिएमडब्लू जस्ता ब्रान्डले मोटरसाइकल बिक्री गर्दै आएका छन् । तर, ती मोटरसाइकलको तुलनामा रोयल इनफिल्ड हिमालयन निकै किफायती मूल्यमा पाउन सकिन्छ ।

रोयल इनफिल्ड हिमालयन दैनिक प्रयोग तथा अफरोड दुबैका लागि उत्तिकै सहज प्रयोग गर्न सकिने भएका कारण यसलाई भ्यालु फर मनी मोडल मान्न सकिन्छ । यसमा ४५२ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड, ४ भल्भ इन्जिन छ ।

कम्पनीले शेर्पा नाम दिइएको उक्त इन्जिनले ८००० आरपीएममा अधिकतम ४०.२ पीएस पावर तथा ५५०० आरपीएममा अधिकतम ४० एनएम टर्क जेनेरेट गर्छ ।

फिचर लोडेड हिमालयन ४५० मा टीएफटी कन्सोल, टर्न वाइ टर्न नेभिगेशन, राइड मोड, स्वीचएवल एबीएस, अफरोड स्पोक ह्वील, स्लीपर एसिस्ट क्लच, यूएसडी र मोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ पोर्ट लगायतका फिचर पाउन सकिन्छ ।

१. पल्सर एनएस ४०० जेड

पल्सर एनएस ४०० जेड नाडा अटो शोमै सार्वजनिक भएको अर्को भ्यालू फर मनी मोटरसाइकल हो । एउटै कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले अटो शो मार्फत नै ट्रायम्फ ब्राण्ड पनि सार्वजनिक गर्दा पल्सर एनएस ४०० जेड छाँयामा परेको थियो ।

मूल्य र फिचरका आधारमा यो मोटरसाइकल सबैभन्दा भ्यालू फर मनी मोटरसाइकल हो । यसमा प्रिमियम मोटरसाइकलमा हुने सबैजसो फिचर पाउन सकिन्छ ।

यसमा राइड वाइ वायर, राइड मोड, ट्रयाक्सन कन्ट्रोल, स्लिपर असिस्ट क्लच, फुल डिजिटल डिस्प्ले, कनेक्टिभिटी फिचर, यूएसडी फर्क, डबल च्यानल एबीएस जस्ता फिचर छन् ।

प्रिमियम मोटरसाइकलमा हुने फिचरसतिहको एनएस ४०० जेडको मूल्य ५ लाख ४९ हजार ९०० रुपैयाँ मात्रै छ । यस मोटरसाइकलमा ३७३ सीसी सिंगल सिलिन्डर, फोर भल्भ, लिक्विड कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले ४० पीएस पावर तथा ३५ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । एनएस ४०० जेडको मूल्य, फिचर र बजाजको सर्भिस नेटवर्कका कारण यो मोटरसाइकल भ्यालु फर मनी मोटरसाइकलको लिस्टमा सबैभन्दा अगाडि राख्न सकिन्छ ।


Back_to_top