९ सय रुपैयाँ तिरेर मोटरसाइकल भाडामा लिन पाइने, यी हुन् दर्जन कम्पनी

काठमाडौं । उपत्यका बाहिरबाट काम विशेषले काठमाडौं आउने तथा काठमाडौंबाट मोटरसाइकलमा उपत्यका बाहिर घुम्न जाने मानिसहरुलाई ध्यानमा राखेर विभिन्न रेन्टल कम्पनीहरु संचालनमा रहेका छन् ।

विशेषत घरमा मोटरसाइकल नराख्ने तर चलाउन मनपराउने र सहरी क्षेत्रमा कामको शिलसिलामा मोटरसाइकल प्रयोग गर्न चाहने मानिसलाई केन्द्रमा राखेर यस्ता रेन्टल कम्पनीहरु संचालनमा आएका हुन् ।

प्रायःजसो आन्तरिक तथा बाहिय पर्यटकहरु यस्ता रेन्टल कम्पनीका ग्राहक हुन् । काठमाडौंमा यात्रा गर्न, अफरोड ट्रेलहरु जान वा काठमाडौं वरिपरी द्रुत यात्रा गर्नको लागि गाडीहरुको विकल्पमा मोटरसाइकल भाडामा लिने गरिएको रेन्टल ब्यवसायीहरु बताउँछन् ।

‘लागत प्रभावकारी, ट्राफिक जाममा धेरै बस्नु नपर्ने, समयको बचत हुने जस्ता कारण उपत्यकामा काम विशेष आउने मानिसले मोटरसाइकल भाडामा लिने गरेका छन् । उहाँहरु हाम्रा सेवाबाट सन्तुष्ट रहेको पाएका छौं’, यस क्षेत्रमा लागेका ब्यवसायीको एउटै भनाई पाइन्छ ।

सरकारले तोकेको मापदन्ड अनुसार नै दर्ता भएर संचालनमा आएका यस्ता एजेन्सीहरुले २४ घन्टा नै सेवा उपलब्ध हुने जनाउँछन् । धेरैले सहजताको लागि आफ्नो वेभसाइटबाटै मोटरसाइकल तथा स्कुटर छनोट, भाडा क्यालकुलेसन गर्न सक्ने बनाएका छन् ।

यस्ता रेन्टल एजेन्सीले बनाएका वेभसाइटमा मोटरसाइकलको लिस्ट, १ दिन, १ हफ्ता, १५ दिन, १ महिनाको प्याकेजको मूल्य राखिएको छ ।

काठमाडौंमा मात्रै सिटी मोटर्स बाइक, बिएस बाइक रेन्टल, इजी रेन्टल सर्भिस, बाइकमान्डु, जय गुरु गणेश, किरायामा बाइक, सिहां मोटर बाइक केन्द्र, अन्नपुर्ण एमटीभी एड्भेन्चर, डाउन टेल डस्क, नमस्ते मोटरबाइक, काठमाडौं बाइक स्टेशन, बाइक अन हायर, मल्टि मोटरबाइक रेन्टल सर्भिस लगायतका रेन्टल सर्भिस प्रोभाइडरहरु छन् ।

बिएस बाइक रेन्टलका सन्चालक बाबुराजा महर्जन भन्छन्, ‘हामीले यो सर्भिस दिन थालेको धेरै समय भयो । अहिले पनि अधिकांश ग्राहकहरु प्याकेजमा नै मोटरसाइकल तथा स्कुटर भाडामा लिन आउँछन् । हामी एक दिनको स्कुटर भाडा शुल्क ९०० देखि १२०० र मोटरसाइकलहरु १५० सीसीदेखि ४१० सीसीसम्मलाई १५०० देखि ४५०० सम्मको तोकेर दिन्छौं । धेरै दिनको प्याकेजमा लानेको लागि भने केही कम पर्छ ।’

त्यस्तै, सिटी मोटरबाइक एजेन्सीका संचालक बुद्ध मगरका अनुसार स्कुटर र मोटरसाइकल प्याकेजको रुपमा मात्रै भाडामा दिने गरिएको छ । उनी भन्छन्, ‘ग्राहकको परिचय खुल्ने कागजपत्र ग्यारेन्टीको लागि राखेर दिनको हिसावले मोटरसाइकल र स्कुटर उपलब्ध गराउँछौं ।

प्रायः सबै एजेन्सीले स्कुटर तथा मोटरसाइकलहरु १०० सीसीदेखि ५०० सीसीसम्म राखेका छन् । प्रत्येक दिनको ९०० देखि ६००० रुपैयाँसम्म भाडामा लिने गरेको पाइन्छ । कम्पनीहरुले यामाहा, बजाज, टीभीएस, सुजुकी, होन्डा, रोयल इन्फिल्ड जस्ता ब्रान्डका उत्पादन प्रयोग गरेका छन् ।

कुनै एजेन्सीहरुले भने विदेशी ग्राहकको लागि मात्रै मोटरसाइकल र स्कुटर भाडामा दिने गरेका छन् । यस क्रममा केही केही कम्पनीहरुले डिपोजिट वापात ५० हजारदेखि १ लाखसम्म धरौटी पनि लिने गरेका छन् ।


Back_to_top