काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरीले विद्युतीय कार (ईभी) चढ्न थालेका छन् ।
बाँसबारी छाला जुत्ता उद्योगको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा बयान दिन बिहीबार बिहान उनी ईभी चढेर सरकारी वकिलको कार्यालय, काठमाडौं पुगेका हुन् ।
चौधरीले आफैँले नेपालमा बिक्री गर्ने जीएसी ब्राण्डको इलेक्ट्रीक कार चढेर पुगेका थिए । उनी वागमती प्रदेश -०१-०२९ च ९१७९ नम्बरको जीएसी एवोन–वाइ मोडलको इलेक्ट्रीक एसयूभीमा त्यहाँ पुगेका थिए । उनी करिब २ घण्टा बयान दिएर सरकारी वकिल कार्यालयबाट बाहिरिएका थिए ।
यसअघि धेरै जसो कार्यक्रममा रेन्जरोभरको एसयूभीमा देखिने चौधरीले पछिल्ला दिनमा इलेक्ट्रीक कार चढ्न थालेका हुन् । चिनियाँ ब्राण्डको उत्पादन सिजी मोटर्सले नेपाल ल्याएर बिक्री गर्दै आएको छ । यसको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
जीएसी एवोन-वाइको लम्बाइ ४५३५ एमएम, चौडाइ १८७० एमएम र उचाइ १६५० एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।
कम्पनीले यसमा ६१.५ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री दिइएको छ । एनइडीसीका अनुसार उक्त ब्याट्रीले सिंगल चार्जमा ४९० किलोमिटर रेन्ज दिनेछ ।


