अब बिएमडब्ल्यूका प्रिमियम कार नेपालमा

नेपाली बजारमा १०३ वर्षको इतिहास बोकेको लग्जरी कार उत्पादक कम्पनी बिएमडब्ल्यूका उत्पादनले प्रबेश पाउने भएको छ । अबको दुई महिना भित्र बिएमडब्ल्यू किन्न चाहनेले नेपाली बजारमै किन्न पाउने भएका हुन् ।

विश्व प्रसिद्ध कम्पनी बिएमडब्ल्यूका उत्पादन कहिले र कुन मितिमा नेपाली बजारमा सार्वजनिक गर्ने भन्ने विषयमा केही जानकारी नदिएपनि काठमाडौंको तीनकुनेमा निर्माणाधीन शोरुमको काम अन्तिम चरणमा पुगेबाट उक्त ब्राण्ड चाँडै नेपाल आउने अनुमान गर्न सकिन्छ ।

विश्वका ठूला राजनीतिज्ञ, व्यवसायी र प्रोफेसनलको छनोटमा पर्ने बिएमडब्ल्यू गुणस्तर, सुरक्षा र आरामदायीपनको लागि प्रसिद्ध रहेको छ । सुरुमा नेपाली बजारमा कुन–कुन मोडल आउने छ भन्ने विषयमा कम्पनीले केही खुलाएको छैन ।

यस्तो छ बिएमडब्ल्यूको यात्रा

करिब १०३ वर्ष अगाडि जर्मनीमा खुलेको बायरिचे मोटोरेन वर्क  (बिएमडब्ल्यू) सुरुवाति दिनमा हवाईजहाजको इन्जिन बनाउन खुलेको हो । यस कम्पनीले अहिलेपनि हवाई जहाजको इन्जिन उत्पादन गर्दै आएको छ भने कार उत्पादनमा पनि आफ्नो विशिष्ठ स्थान कायम राख्दै सबैभन्दा धेरै नाफा कमाउने अटो उत्पादकको रुपमा आफुलाई स्थापित गराउन सफल भएको छ ।

बिएमडब्ल्यू ग्रुपले विश्वमा सर्वाधिक महंगा भनेर चिनिने रोल्स रोयस र मिनि ब्राण्डको समेत उत्पादन गर्दै आएको छ । बिएमडब्ल्यू ग्रुपको सबैभन्दा बलियो पक्ष यसका उत्पादन नै हुन् ।

म्युनिखमा हेडक्वाटर रहेको बिएमडब्ल्यूले अहिले जर्मनी, ब्राजिल, चीन, भारत, साउथ अफ्रिका, बेलायत, अमेरिका र मेक्सीकोमा प्लान्ट स्थापना गरेर गाडी उत्पादन गर्दै आएको छ ।

बिएमडब्ल्यू मोटर स्पोर्टसको लागि नाम चलेको कम्पनी हो । जसले टुरिङ कार, फर्मुला १ र स्पोर्ट कारमा विशेष चासो राखेर उत्पादन गर्ने गथ्यो । कम्पनीले सन् १९३० देखिनै लग्जरी कारको उत्पादन सुरु गरेको हो । 


Back_to_top