सेलाएको बजारमा प्रतिस्पर्धा थप्न आउँदै दुई नयाँ ब्रान्डका कार

काठमाडौं । अहिले अटो क्षेत्रमा निजी सवारीसाधन बिक्रीमा ठूलो गिरावट आएको छ । विशेषत ४ पाङ्ग्रे सवारीसाधन बिक्रीमा आएको गिरावटले धेरै कम्पनीले आफ्नो शोरुम बन्द गर्ने अवस्था आइसकेको भएपनि यहि भिडमा प्रतिस्पर्धा गर्न दुई नयाँ ब्राण्ड नेपाल आउन लागेका हुन् ।

विश्व चर्चित मोटर उत्पादक कम्पनी बिएमडब्ल्यू र मलेसियन ब्राण्ड प्रोटोनले नेपालमा आफ्नो उत्पादन बिक्री गर्न डिलर नियुक्त गरेको धेरै समय वितिसकेको छ । अब यी दुबै कम्पनीले नेपाली नयाँ वर्ष २०७७ बाट नेपालमा आफ्नो बिक्री सुरु गर्ने भएका हुन् ।

आफ्नो उत्पादन बिक्री गर्न बिएमडब्ल्यूले काठमाडौंको तिनकुने र प्रोटोनले नक्सालमा शोरुम निर्माणको काम सम्पन्न गरेका छन् भने शोरुममा राख्न गाडी मगाएका छन् । दुबै कम्पनीले कहिलेबाट आफ्नो उत्पादन नेपालमा बिक्री सुरु हुन्छ भन्ने विषयमा जानकारी नदिएपनि उनिहरुको तयारी हेर्दा अबको केही दिनपछि नै बिक्री सुरु हुने अनुमान लगाउन सकिन्छ ।

बिएमडब्ल्यु ब्रान्ड

लक्ष्मी ग्रुप अन्तर्गतको नयाँ कम्पनीले ल्याउने विश्व बजारमा १०३ वर्षे इतिहास बोकेको लग्जरी कार उत्पादक कम्पनी बिएमडब्ल्यूका उत्पादनले आधिकारीक रुपमा नेपाल प्रबेश गर्ने भएकाे हाे ।

विश्वका ठूला राजनीतिज्ञ, व्यवसायी र प्रोफेसनलको छनोटमा पर्ने बिएमडब्ल्यू गुणस्तर, सुरक्षा र आरामदायीपनको लागि प्रसिद्ध रहेको छ । सुरुमा नेपाली बजारमा कुन-कुन मोडल आउने छ भन्ने विषयमा कम्पनीले केही खुलाएको छैन ।

प्रोटोन

मलेसियन मोटर कम्पनी प्रोटोनका उत्पादन नेपाली बजारमा यसअघि पनि बिक्री हुने गरेकोमा केही वर्षदेखि बन्द अवस्थामा थियो । अहिलेपनि नेपाली सडकमा प्रोटोनका वाजा, विरा तथा पर्सोना मोडलका कारहरू गुडिरहेका छन् ।

जगदम्बा मोटर्सले नेपाल ल्याउने तयारी गरिरहेको छ र उसले पहिलो गाडीको रुपमा एसयूभी ल्याएर बिक्री सुरु गर्ने अनुमान गरिएको छ ।


Back_to_top