३ महिनापछि नेपालमै बनेको डर्ट बाइक चढ्न पाइने

काठमाडौं । नेपाली बजारमा एकपछि अर्को इलेक्ट्रीक सवारीसाधन भित्री रहेका छन् भने नयाँ एसेम्बल यूनिटपनि थपिन थालेका छन् । यस्तोमा आस्टा अटोमोबाइलले नेपाली बजारमा नयाँ इलेक्ट्रीक मोटरसाइकल एसेम्बल गर्ने तयारी गरेको हो ।

आस्टा अटोमोवाइल स्रोतका अनुसार कम्पनीले यसको एसेम्बल प्लान्ट काठमाडौंको किर्तिपुरमा लगाउने प्रक्रिया अगाडि बढाएको छ ।

‘अबको तीन महिनाभित्र हामी ‘गो–क्यो’ नामक ब्राण्डको मोटरसाइकल एसेम्बल सुरु गर्नेछौं ।’ कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

गो–क्यो ब्रान्डको इलेक्ट्रीक बाइकको मोडल नेम ‘रि’ हुनेछ । यसमा प्रयोग गरिने मोटर कन्ट्रोलर जर्मनीबाट र फ्रेम चीनबाट ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

यसमा किलेस स्टार्ट, बेटर ग्रिप, बेटर क्लाइम्बिङ क्षमताका साथै राम्रो पावर र राम्रो सक एब्जब्र्सन इफेक्ट आदि विभिन्न विशेषता हुने छन् ।

बाइकमा ५ किलोवाटको मोटर प्रयोग गरिने छ । यसमा कम्पनीले सिंगल वा डबल ब्याट्री अप्सन दिन सक्ने छ । सिंगल व्याट्रीयुक्त मोटरसाइकल एक पटकको फूलचार्जमा १०० किलोमिटर चलाउन सकिने छ । त्यसैगरि डबल व्याट्री भएको बाइकले फुलचार्जमा २०० किलोमिटर रेञ्ज प्रदान गर्नेछ ।

घरायसी प्रयोगको बिजुलीले यसलाई ४ घण्टामा सिंगल ब्याट्री र ८ घन्टामा डबल ब्याट्री चार्ज गर्न सकिन्छ । यी बाइक शहर र अफरोड दुवैमा चलाउन सकिने छ ।


Back_to_top