अमेरिकन एयरलायन्सले विवादित बोइङ ७३७ म्याक्सबाट फ्लाईट सुरु गर्ने भएको छ । गत मार्चमा छोटो समयमै दोस्रो पटक दुर्घटनामा परेपछि विश्वभरका एयरलायन्सहरुले बोइङको ७३७ म्याक्सको उडानहरु खारेज गरेका थिए । अमेरिकन एयरलायन्सले आगामी सेप्टेम्बर र डिसेम्बरका लागि बोइङ ७३७ म्याक्सको उडान तालिका सार्वजनिक गरेको हो । हाल अमेरिकन एयरलायन्ससँग २४ वटा ७३७ म्याक्स रहेको छ भने थप ७६ वटा अर्डरमा रहेको छ ।
गत मार्च १० मा इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स जहाज इथियोपियाको राजधानी आदिस अबाबाबाट उडेको केही मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा सबै १५७ जना यात्रु र चालक दलका सदस्यहरुको मृत्यु भएको थियो । त्यस्तै सन् २०१८ को अक्टुबरमा पनि इन्डोनेसियाको लायन एयरले उडान केही समयपछि इन्डोनेसियाको जाभा समुन्द्रमा खसेको थियो । उक्त विमानमा पनि सवार सबै १८९ जना यात्रु र चालक दलका सदस्यहरुको घटनास्थलमै मृत्यु भएको थियो ।

विमानको पूर्ण प्राविधिक परीक्षण भएर सुरक्षित छ भन्ने विश्वास भएपछि मात्र उडान गर्न अनुमति प्रदान गर्ने फेडरल एभिएसन एडमीनीष्ट्रिेसनले जानकारी दिदै विश्वभर रहेका सबै ७३७ म्याक्सको उडान खारेज गरिदिएको थियो । हाल विश्वभरका एयरलायन्ससँग ३ सय ८७ वटा उक्त मोडलका जहाजहरु रहेका छन् । उक्त जहाजका कारण एयरलायन्सहरुलाई करोडौ रुपैया घाटा पुगिरहेको छ ।
चाइनाका ठूला तीन एयरलायन्स कम्पनी एयर चाईना, चाइन साउदर्न तथा चाईना इष्टर्नले बोइडसँग कम्पेन्सेसन क्लेम गर्ने जनाइसकेका छन् । चाईनीज एयरलायन्सहरुसँग यी मोडलका ९६ वटा विमान रहेका छन् । दुई महिना अघि इथोपियन एयरलायन्सले संचालन गरेको बोइङ ७३७ म्याक्सको दुर्घटना पछि चाइनाले सबैभन्दा पहिले ७३७ म्याक्सको उडान स्थगित गरेको थियो ।
प्राविधिक त्रुटिका कारण सम्पूर्ण यात्रीहरुको ज्यान जाने गरि भएको दुईवटा भयानक दुर्घटना पछि सर्वसाधारण यात्रुहरुले यो जहाजमा यात्रा गर्न कतिको सहज मान्नेछन् त्यो भने आगामी दिनेले नै बताउने छ ।

