काठमाडौं । नेपालमा रोयल इनफिल्डको नयाँ भेरियन्ट हन्टर ३५० मोटरसाइकलको बुकिङ खुला भएको छ ।
नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले नयाँ भर्सन हन्टर ३५० मोटरसाइकलको बुकिङ खुलाएको हो ।
कम्पनीले बुकिङ खुलाएको नयाँ हन्टर अब ६ दिनपछि अर्थात मंसिर २२ गते नेपालमा आधिकारिक रूपमा सार्वजनिक हुँदै छ ।
कम्पनीले नेपालमा उपलब्ध गराउन लागेको हन्टर ३५० भारतमा निर्माण भएको ‘बीएस ६’ २०२५ को नयाँ मोडल हुनसक्ने अनुमान गरिएको छ । हालसम्म कम्पनीले यस बारे कुनै जानकारी बाहिर ल्याएको छैन ।
अहिले नेपालमा उपलब्ध हन्टर बीएस ४ मोडलको हो । यसको तुलनामा नयाँ बीएस ६ भेरियन्टमा अझै धेरै एड्भान्स र सुरक्षा फिचरहरू पाउन सकिन्छ ।
रोयल इनफिल्डको जे सिरिज प्लेटफर्ममा निर्माण भएको नयाँ हन्टरमा ३४९ सीसीको सिंगल सिलिण्डर, फोर स्ट्रोक, एयर र आयल कुल्ड, बीएस ६ इन्जिन छ । यो इन्जिनले अधिकतम २०.२ ब्रेकहर्स पावर तथा २७ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्सका साथै स्लिप एण्ड असिस्ट क्लच पनि पाउन सकिन्छ ।
ट्वीन डाउन ट्युब स्पीन फ्रेममा बनेको यस मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा एड्जस्टेबल ट्वीन सक एब्जर्भर रहेको छ ।
२०२५ भर्सन हन्टरमा बाइब्रीको ब्रेकिङसिस्टम, डबल डिस्कब्रेक, स्पोक ह्वील, ट्युबलेस टायर, डबल च्यानल एबीएस–सिंगल च्यानल एबीएस अप्सनल) रूपमा दिइएको छ भने यसको रियर टायरमा ड्रमब्रेक भेरियन्ट पनि उपलब्ध छ ।
त्यस्तै, यसमा रेट्रो स्टाइल फिल दिने डिजिटल एनालग एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, ट्रीपर नेभिगेसन सिस्टम, एलईडी हेडलाइट, एलईडी टेलल्याम्प र टाइप सी फास्ट चार्जिङ पोर्ट दिइएको छ । यो मोटरसाइकल भारतमा ७ कलर अप्सनमा उपलब्ध छ । यसको बेस भेरियन्टमा भने केहि फिचरहरू कम रहेको छ ।
नेपालमा उपलब्ध बीएस ४ हन्टर ८ कलर अप्सनमा उपलब्ध छ । यसको सुरूवाती मूल्य ४ लाख ६३ हजार ६०० रुपैयाँ रहेको छ ।
कम्पनीले सबै मोटरसाइकल नेपालमै एसेम्बल गर्ने भएकाले पुरानोको तुलनामा नयाँ भर्सन हन्टरमा २० देखि ३० हजार रुपैयाँसम्म मात्रै मूल्य बढ्ने अनुमान गर्न सकिन्छ ।

