काठमाडौं । सरकारले चीन सरकारको अनुदान सहयोगमा विस्तार हुन लागेको स्याफ्रुबेँसी-रसुवागढी सडक खण्ड निर्माणका लागि बुङ्गा, गिट्टी, बालुवामा लाग्ने दस्तुर छुट दिने निर्णय गरेको छ ।
सोमबार (मंसिर १५ गते) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
‘गल्छी-त्रिशुली-मैलुङ-स्याँफ्रुबेँसी-रसुवागढी सडकको स्याफ्रुबेँसी-रसुवागढी खण्ड चीन सरकारको अनुदान सहयोगमा निर्माण हुने गरी भएको सम्झौताबमोजिम गल्छी-त्रिशुली-मैलुङ-स्याँफ्रुबेँसी-रसुवागढी सडक योजनाका लागि सडकको एलिजमेन्ट तथा नदी किनाराबाट उत्खनन गरिने बुङ्गा, गिट्टी, बालुवामा लाग्ने दस्तुर छुट दिने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।
यस्तै, सरकारले उक्त सडक निर्माण गर्न अस्थायी प्रयोजनका लागि लाङटाङ राष्ट्रिय निकुञ्जको २० हजार वर्गमिटर जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ ।
बैठकले उक्त सडकको कुल लम्बाइको मध्यविन्दुबाट १० किलोमिटर भित्र टेम्पररी फ्यासिलिटिज निर्माण गर्नका लागि लाङ्टाङ राष्ट्रिय निकुञ्ज भित्रको २० हजार वर्ग मिटर क्षेत्रफल बराबरको जग्गा योजना सम्पन्न नभएसम्मका लागि योजनालाई अस्थायी रूपमा उपयोग गर्न सहमति प्रदान गर्ने निर्णय गरेको हो ।
यो सडक विस्तारका लागि नेपाल र चीन सरकार बीच सन् २०१८ मा सम्झौता भएको थियो । चीनले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म १५.७ किलोमिटर विस्तार कार्य अघि बढाइसकेको छ ।

