सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५/२५ मिटरबाट १५/१५ मिटर बनाइने भएको छ ।
कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय पहिलो प्राथमिकतामा रहेको कार्यपालिकाका प्रवक्ता कर्ण घिसिङले जानकारी दिए ।
उक्त नगरपालिका वडा नं ७ को बुकापुलदेखि वडा नं ४ को हिरापानीसम्म पर्ने बिपी राजमार्गको दायाँ र बायाँ राजमार्गको बीचबाट दायाँबायाँ १५/१५ मिटर कायम गर्न नेपाल सरकारलाई आग्रह गरिने उनले जानकारी दिए ।
नगरपालिकाले यसअघि सडकको दायाँबायाँ ३१/३१ मिटरको क्षेत्रमा जग्गा किनबेच तथा घर निर्माणमा लगाएको रोक अब १० मिटर घटेर २१ मिटरमा कायम गर्न पहल गरिने भएको छ ।
बिपी राजमार्गमा पहिला १५ मिटर जग्गाको मात्र मुआब्जा पाएका जग्गा धनीहरु भएको सो क्षेत्रमा मात्र सडकको क्षेत्राधिकार दायाँबायाँ १५/१५ मिटर र सडक सुरक्षाका लागि छ मिटर गरी २१ मिटर कायम गर्ने र अन्यन्त्रको हकमा भने नेपाल सरकारको निर्णयअनुरुप नै काम हुने उनको भनाइ थियो ।

