काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई भब्यरुपमा सफल बनाउन विभिन्न प्रचारात्मक कार्य र अभियान संचालन भईरहेका छन् । सोहि सन्दर्भमा, वेल्ट एण्ड रोड इनिसेटीभ पनि जोडिने भएको छ ।
वेल्ट एण्ड रोड इनिसेटीभ र नासा फाउन्डेसनले आगामी डिसेम्बर १३ र १४ तरिखमा भ्रमण वर्ष २०२० ट्रान्सपोर्ट एण्ड टुरिजम इन्टग्रेसन शिर्षकमा कार्यशाला संचालन गर्ने भएको हो ।
चिनीयाँ हाइवे एण्ड ट्रान्सपोर्ट सोसाइटी तथा नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा)को आयोजनामा हुने सो कार्यशालाको उद्घाटन नेकपा अध्यक्ष पुष्पकमल दहालले गर्ने विज्ञप्तीमा उल्लेख छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सहयोग तथा पर्वतीय खेलकुद महासंघ नेपालको समन्वयमा हुने सो कार्यक्रममा पर्यटन क्षेत्रमा लगानीको सम्भावना, ड्राइभ टुरिजम, बिआरआई एण्ड टुरिजम, पर्यटन सेफ्टी तथा क्रस बोर्डर कनेक्टिभिटि जस्ता एक दर्जन कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ ।
कार्यशालामा चिनीयाँ सरकारी तथा व्यवसायिक क्षेत्रको प्रस्तुति रहनेछ भने नेपालको केन्द्र सरकार तथा प्रदेश सरकारका उच्चअधिकारीहरु, सांसदहरु, पर्यटन क्षेत्रका विज्ञ तथा व्यवसायिहरु, सडक तथा यातायात विज्ञहरु, चीन, भारत, संयुक्त अधिराज्य, बंगलादेशका विज्ञहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता हुनेछ ।
नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको विशेष प्रस्तुति रहने तथा ७ वटै प्रदेश सरकारका पर्यटकीय निकायहरुको समेत सहभागिता रहने उल्लेख गरिएको छ ।

