काठमाडौं । पछिल्लो समय मध्ये पहाडी राजमार्ग अन्तर्गत पश्चिमका विभिन्न जिल्लाहरुमा पुल निर्माणको काम तिब्र गतिमा अगाडि बढिरहेको छ । केही पुल निर्माण सम्पन्न भइसकेका छन् भने, केही निर्माण क्रममा रहेका छन् । साथै केही स्थानमा पुल निर्माणका लागि प्रस्ताव आह्वान गरिएको छ । साथै, केही पुलको डीपीआर बन्ने क्रममा रहेको छ ।
मध्यपहाडी राजमार्ग अन्तर्गतका पश्चिमका ९ जिल्लामा कुल ६६ वटा पुल निर्माणको कार्यक्रम रहेका छन् ।
मध्यपहाडी राजमार्ग निर्देशनालयका अनुसार रुकुमको पश्चिम क्षेत्रमा १० वटा पुल निर्माण गर्नु पर्नेमा ७ वटा पुल निर्माण भइसकेको छ । साथै सो जिल्लाको ३ पुल निर्माणाधिन अवस्थामा रहेको छ ।
सो जिल्ला अन्तर्गत मुग्लु खोला पुल, चिवाङ खोला पुल, सिम्ली खोला पुल, घिठ्ठा खोला पुल, फला बजगर पुल, सिस्ने खोला पुल र काले खोला पुलको निर्माण सम्पन्न भएको अयोजनाले बताएको छ ।
हाल सहरे खोला पुल, झरी खोला पुल र भेरी खोला पुल निर्माण भइरहेको छ ।
जाजरकोट जिल्लामा ३ पुल निर्माण हुनु पर्नेमा २ वटा पुल निर्माण भइसकेको छ । सो जिल्लाको फेरा खोला पुल र झुप्रा खोला पुलको निर्माण सम्पन्न भइसकेको छ भने, छेडा खोला पुल निर्माणाधिन अवस्थामा रहेको छ ।
यस्तै दैलेख जिल्लामा ११ पुल निर्माण गर्नु पर्नेमा हालसम्म ६ वटा पुलको निर्माण सम्पन्न भएको छ । लोहोरे खोला पुल, छमघाट खोला पुल, पढुका खोला पुल, रामघाट खोला पुल, छिन्ने खोला पुल र कर्नाली खोलाको पुल निर्माण सम्पन्न भएको हो ।
त्यस्तै २ वटा पुलको डीपीआर निर्माण भइसकेको छ भने, ३ वटा खोलेगड खोला पुल, मझाखेल पुल र अधेरी खोला पुलको हालसम्म डीपीआर तयार भएको छैन ।
अछाम जिल्लामा ५ वटा पुल निर्माण भइरहेकोमा ४ वटा पुल अझै निर्माणाधिन अवस्थामा रहेका छन् भने एउटा पुलको भर्खर डीपीआर तयार भएको छ ।
उक्त जिल्लाको कैलाश खोला पुल, छिपे खोला पुल, बुढिगण्डकी पुल र परभालीगड पुल निर्माणको काम भइरहेको छ । मोटेला खोला पुल निर्माणको भने डीपीआर मात्रै तयार भएको छ ।
लम्जुङमा ८ वटा पुल निर्माण योजना अन्तर्गत ४ वटा पुलको निर्माण सम्पन्न भइसकेको छ । गोर्खा लम्जुङ बोडरमा रहेको छेपे खोला पुल, मर्स्याङदी खोला पुल, किरिन्छे खोला पुल र मिडिम खोला पुल निर्माणको काम सम्पन्न भइसकेको हो ।
यस्तै मिरदि खोला र लिपु खोला पुलको निर्माण भइरहेको छ भने भैसे खोला र पिस्ती खोला पुलको डिपिआर बन्ने क्रममा रहेको छ ।
गोर्खा जिल्लामा ३ पुल निर्माण निर्माणाधिन अवस्थामा रहेका छन् । झोरङ खोलामा २ पुल निर्माणधिन अवस्थामा छन् भने बोहोरे खोला पुल पनि निर्माण क्रममा रहेको छ ।
डोटी जिल्लामा ९ वटा पुल निर्माणाधिन अवस्थामा रहेका छन् । गण्डकी पुल, फलटगड पुल, कलागड पुल, लोहखाडी पुल, गोल्मगड पुल, दजारी पुल, सेती खोला पुल, कोर्यन पुल र रडुवा पुल निर्माणाधिन अवस्थामा रहेका छन् ।
नुवाकोट जिल्लामा १४ वटा पुल निर्माणको योजना रहेको छ । त्यस मध्ये ४ वटा पुल निर्माण सम्पन्न भइसकेको छ । सो जिल्ला अन्तर्गत बुढिसेरा पुल, छहरे खोला पुल, तादी खोला पुल र त्रिशुली खोला पुल निर्माण सम्पन्न भइसकेको हो ।
यस्तै ७ वटा पुल निर्माणाधिन अवस्थामा रहेका छन् । ठाडो खोला पुल, कुले खोला पुल, कुखुरे खोला पुल, चालिसे खोला पुल, खहरे खोला पुल, सामरी खोला पुल र कगुने खोला पुल निर्माणाधिन अवस्थामा रहेका हुन् ।
सो जिल्लामा थप ३ पुल निर्माणका लागि प्रस्ताव गरिएको छ । हाल शिभालय खोला पुल, लिखु खोला पुल र त्रिबेणी खोला पुल निर्माणका लागि प्रस्ता गरिएको हो ।
यसैगरी धादिङमा एउटा पुल निर्माणाधिन अवस्थामा रहेको छ भने २ पुल निर्माणका लागि प्रस्ताव गरिएको छ ।
सो जिल्लामा भर्याङ खोला पुल निर्माणाधिन अवस्थामा रहेको छ । आरु खोला पुल र बुढिगण्डकी पुल निर्माणका लागि प्रस्ताव गरिएको छ ।

