धेरै नयाँ फिचरसहित नेपाल आयो बीएस ६ होन्डा डिओ, मूल्य कति ?

काठमाडौं । नेपालमा सर्वाधिक विक्री हुने स्कुटर होन्डा डिओ बीएस ६ इन्जिनमा नेपाल आएको छ । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले बीएस ६ इन्जिन भएको डिओ नेपाल ल्याएको हो ।

कम्पनीले नयाँ डिओ शोरुममा राख्ने तयारी गरिरहेको जनाएको छ ।

‘नयाँ डिओ नेपाल आएको छ । यसलाई शोरुममा राखेर ग्राहकको प्रतिक्रिया लिदैछौँ । ग्राहकको प्रतिक्रियापछि यसको आधिकारीक विक्री वितरण सुरु हुने छ’, स्याकार ट्रेडिङ स्रोतले मेरोअटोसँग भन्यो ।

नेपालमा स्कुटर सेग्मेन्टमा आफ्नो अलगै पहिचान बनाएको डिओमा अब एफआई इन्जिन उपलब्ध हुने छ । नयाँ डिओमा रहेको १०९.२ सीसी सिंगल सिलिन्डर इन्जिनले अधिकतम ८ बीएच पावर र ९ एनएम टर्क प्रदान गर्छ । पहिलेको तुलनामा नयाँ बीएस ६ डिओले माइलेज पनि बढी दिने छ ।

बीएस ४ को तुलनामा थुप्रै नयाँ फिचर थपिएर आएको बीएस ६ डिओमा नयाँ एलइडी हेडल्याम्प, फुल डिजिटल मिटर, बुट स्पेसको बाहिर फ्युल लिड, इन्जिन स्टार्ट/स्टप स्वीच, साइड स्यान्ड इन्जिन कट सेन्सर, साइलेन्ट स्टाट, रिट्रयाकएबल पिलियन फुट रेष्ट, स्प्लीट ग्रयावरेल, इनह्यान्स स्मार्ट पावर टेक्नोलोजी जस्ता नयाँ फिचर पाउन सकिन्छ ।

हाल नेपाली बजारमा उपलब्ध बीएस ४ इन्जिन भएको डिओको मूल्य २ लाख १६ हजार ९०० रुपैयाँ रहेको छ । यस्तोमा नयाँ इन्जिन र फिचरले भरिएको डिओको मूल्य कति पर्छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन । दुई भेरियन्ट स्टायडर्ड र डिलक्स भेरियन्ट नेपालमा विक्री हुने छ । नयाँ डिओको स्टायडर्ड भेरियन्टको मूल्य २ लाख ४० हजार र डिलक्स भेरियन्टको २ लाख ६५ हजार रुपैयाँ पर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top