कोभिडको कारण २७.३८ प्रतिशतले घट्यो कारको विक्री

काठमाडौं । अंग्रेजी क्यालेन्डर अनुसार आर्थिक वर्ष २०१९/२० मा १६ हजार ११६ यूनिट कार, जीप, भ्यान विक्री भएकोमा आर्थिक वर्ष २०२०/२१ मा ११ हजार ७०३ यूनिट मात्रै कार, जीप, भ्यानको विक्री भएको छ ।

नेपालमा कोभिड १९ को संक्रमण बढेसँगै बजार ठप्प हुँदा करिब २७.३८ प्रतिशतले कारको विक्रीमा गिरावट आएको हो । सन् २०१९/२० को तुलनामा २०२०/२१ मा ४ हजार ४१३ यूनिट कार, जीप, भ्यान कम विक्री भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

कोभिड संक्रमण केहि नियन्त्रणमा आएसँगै शोरुमहरु खुलेको र कम्पनीहरुले गाडी विक्री बढाउन सफल भएका थिए । विशेषत यो अवधिमा बैंक तथा वित्तीय संस्थाले गाडी कर्जामा जोड दिए भने बजारमा अधिक तरलताको कारण व्याजदर पनि निकै सस्तो हुँदा गाडी किन्ने तयारी गरेका मानिसले सहजै गाडी किनेको अनुमान गर्न सकिन्छ ।

‘कोभिड १९ को कारण लकडाउन हुँदा गाडी विक्री निकै घट्ने अनुमान गरिएको थियो । तर, लकडाउन अन्त्यसँगै बजारमा एक प्रकारको रौनक देखियो जसको कारण लामो समय व्यवसाय नै बन्द भएपनि समग्रमा ३० प्रतिशत हाराहारीमा कम गाडी आयात भयो’, एक अटो विक्रेता कम्पनीका संचालकले भने ।


Back_to_top