बजेट कुरेर बसेका ४ इलेक्ट्रीक मोडल

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले विद्युतीय कारमा कसरी कर निर्धारण गर्छ भन्ने कुरा गाडी किन्ने योजना बनाएका र बिक्री गर्न बसेका दुबै पक्षलाई खुबै चासो भएको विषय हो ।

सरकारले १५/२० प्रतिशत कर चलाएको खण्डमा गाडीको मूल्यमा धेरै फरक पर्ने भएको कारण बिक्रेता र क्रेता दुबैले बजेटमा चासो राख्ने गर्छन् । चालु आर्थिक वर्षको ९ महिनामा मै ७ हजार यूनिट विद्युतीय कार आयात भएसँगै ईभीको लोकप्रियता प्रस्ट भएको छ ।

सरकारले बजेटबाट लिने नीति अनुसार मूल्य कायम गरेर गाडी आयात गर्ने योजनामा धेरै कम्पनी देखिन्छन् । त्यसमध्ये केही मोडल नेपालको लागि हिडेका छन् । केही मोडल बजेटले नयाँ कर निर्धारण गरेपछि मात्रै आयात प्रक्रिया सुरु गर्ने तयारी भइरहेको बुझ्न सकिन्छ ।

विशेषगरी चीन बाहेकका देशबाट आउने विद्युतीय कारहरु बजेट कुरेर बसेका हुन् । तत्काल केही यूनिट मगाउन सकिएपनि कर बढ्नासाथ गाडीको मूल्य बढाउनु पर्ने अवस्था आउने भएको कारण कम्पनीहरु बजेट अगाडि गाडी ल्याउन इच्छुक देखिएका छैनन् ।

अहिले इन्डोनेशियाबाट विलिङ, भारतबाट टाटा र महिन्द्राको ईभी तथा कोरियाबाट कोना ईभी नेपाल ल्याउने प्रक्रिया भइरहेका छन् ।

विलिङ विङ्गो

एसएआइसी–जिएम र विलिङ मिलेर इन्डोनेशियामा उत्पादन गरेको विलिङ विङ्गो बजेट अगाडि नै आइपुग्ने भएको छ । कम्पनीले ल्याउने विङ्गो ईभी ४९ किलोवाट क्षमताको मोटरमा भएको कारण आयातकर्ताले यसलाई ढुक्कसँग ल्याउन लागेको बुझ्न सकिन्छ ।

विङ्गो एक ह्याचव्याक कार मोडल हो । ५ जनाले यात्रा गर्न सक्ने विङ्गो ईभी झण्डै ४ मिटर लामो छ । पारामाउन्ट मोटर्सले नेपाल ल्याउने विलिङ विङ्गोको मूल्य ३२ लाख हाराहारी पर्ने कम्पनीले जनाएको छ ।

टाटा नेक्सन ईभी फेसलिफ्ट

टाटाको चर्चित सब फोर मिटर एसयूभी नेक्सनको इलेक्ट्रीक र पेट्रोल दुबै मोडल फेसलिफ्ट भएर भारतमा बिक्री हुँदै आएको छ । नेपाली बजारमा यसलाई सिप्रदी ट्रेडिङले आगामी बजेटपछि ल्याउने तयारी गरिरहेको छ ।

नेपाली बजारमा निकै रुचाइएको नेक्सनको बाहिरी डिजाइन र भित्री इन्टेरियर फिचरमा ठूलो परिमार्जन भएर आउन लागेको छ । त्यसैले बजेट अगाडि केही यूनिट ल्याएर बिक्री गर्नुभन्दा बजेट लगत्तै गाडी ल्याउने तयारीमा कम्पनी देखिएको छ । यदि बजेटमा तलमाथि नभएको खण्डमा अहिलेकै ४३ देखि ४६ लाख मूल्यमा नै नेक्सन ईभी आउन सक्ने देखिन्छ ।

महिन्द्रा एक्सयूभी ४००

महिन्द्राले दुई वर्ष अगाडि भारतमा बिक्री सुरु गरेको एक्सयूभी ४०० इलेक्ट्रीक मोडल पनि आगामी आर्थिक वर्षमा नेपाल आउने देखिन्छ । अग्नी इनकर्पोरेट प्रालिले नेपाल ल्याउने एक्सयूभी ४०० कम्प्याक्ट एसयूभी हो ।

मूल्यको हिसावले नेक्सन ईभीकै हाराहारी रहने अनुमान गरिएको एक्सयूभी ४०० ले कस्तो ब्यापार पाउँछ अहिल्यै भन्न सकिदैन । तर, सरकारले कर जसरी चलाएपनि महिन्द्रा एक्सयूभी ४०० नेपाली बजारमा प्रबेश गर्नेछ ।

हुन्डाई कोना ईभी

महंगो मूल्यको कारण धेरै मानिसले मनपराएर पनि विकल्प खोजेको कोना इलेक्ट्रीकको नयाँ जेनेरेशन मोडल नेपाल आउने छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बजेटपछि कोना ईभी नेपाल ल्याउने जनाएको छ ।

अहिले ल्याउँदा कति कर चल्छ भन्ने एकिन नभएको कारण बजेटपछि नै कोना ईभी नेपाल ल्याउने तयारी थालेको हो । अन्तर्राष्ट्रिय बजारमा निकै राम्रो रिभ्यू पाइरहेको कोना ईभीको नयाँ जेनेरेशन मोडल नेपाल आउने छ । नयाँ कोना अहिलेको तुलनामा भने केही महंगो हुने बताइन्छ ।


Back_to_top