दशैंमा घर जान कति लाग्छ गाडी भाडा ? यस्तो छ देशभरको भाडादर (सूचीसहित)

काठमाडौं । नेपालीको सबैभन्दा ठूलो चाड दशैं सुरू भइसकेको छ । यससँगै काठमाडौं उपत्यकामा बसोबास गर्नेहरू दशैं मनाउन गाउँ फर्कने क्रम बढ्दो छ ।

असोज १ गते यता मात्रै ४ लाख बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिसके (सार्वजनिक यातायातमा)का छन् । दशैंभर यो क्रम जारी रहने छ ।

यस वर्ष दशैंमा बसको अग्रिम टिकट बुकिङ खुलाइएको छैन । यात्रुले सोही दिन टिकट काटेर जानुपर्नेछ । त्यस्तै, यस वर्ष गाडी भाडा समेत बढाइएको छैन ।

यातायात व्यवस्था विभागका निर्देशक श्रीकान्त यादवले हाल अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा २०८१ पुस २२ गते तोकिएको भाडादर लागू भइरहेको बताए । त्यसयता भाडादर समायोजन नभएको उनले बताए ।

‘यस वर्ष दशैंमा भाडा बढाइएको छैन । हाल २०८१ पुस २२ गते तोकिएको भाडाधार लागू भइरहेको छ । त्यसयता समायोजन गरिएको छैन,’ उनले मेरोअटोसँग भने ।

विभागले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा तोक्ने गर्छ । प्रदेश भित्रै चल्ने सवारी साधनको भने सम्बन्धित प्रदेशहरूले नै निर्धारण गर्छन् ।

हाल अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीमा वैज्ञानिक भाडा समायोजन प्रणाली लागू गरिएको छ । सो अनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रूपमा भाडादर समायोजन हुने गर्छ ।

फाइल तस्बिर ।

दशैंमा यात्रुको चाप बढी हुने हुनाले केही यातायात व्यवसायीले बढी भाडा असुल्ने, टिकटको कालोबजारी गर्ने गरेको गुनासो सुनिन्छ । यदि कसैले त्यस्तो क्रियाकलाप गरेको भेटिएमा कानुन बमोजिम कारबाही गरिने उनले बताए ।

‘दशैंको मौकामा कसैले बढी भाडा असुल्ने, टिकट कालोबजारी गर्ने लगायत यात्रुलाई असहज हुने गतिविधि गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही हुन्छ,’ उनले भने ।

कसैले बढी भाडा असुले, यात्रुलाई दुःख दिएमा यात्रु सहायता कक्ष, नजिकैको प्रहरी कार्यालय वा नेपाल प्रहरीको हटलाइन १०० मा कल गरेर उजुरी गर्न सकिने ट्राफिक प्रहरीले जनाएको छ ।

कहाँ पुग्न कति लाग्छ भाडा ?

विभागले अन्तर प्रदेश चल्ने सवारीको दुरी, भौगोलिक अवस्था, सडकको अवस्था लगायतका आधारमा भाडादर निर्धारण गर्छ । विभागले हाल देशभरका २८० रुटमा चल्ने सार्वजनिक सवारीको भाडादर निर्धारण गरेको छ ।

विभागले सुविधाका आधारमा सार्वजनिक सवारीलाई ३ वर्गमा वर्गीकरण गरी भाडादर तोकेको छ । जसमा सामान्य सवारीको तुलनामा डिलक्सले २० प्रतिशत बढी र डिलक्सको तुलनामा सुपर डिलक्सले थप २० प्रतिशत रकम थप गरी भाडा लिन पाउँछन् ।

काठमाडौंबाट सबैभन्दा धेरै भाडा बझाङको चैनपुर जान लाग्छ । काठमाडौं-अत्तरिया-चैनपुरको साधरण बसको भाडा ३ हजार १३२ रुपैयाँ छ । डिलक्सको ३ हजार ७५९ र सुपर डिलक्सको ४ हजार ५१० रुपैयाँ तोकिएको छ ।

अन्तर प्रदेशमा सबैभन्दा कम भाडादर नारायणगढ-कावासोती बजारको १०६ रुपैयाँ र सिन्धुलीमाढी-बर्दिबासको १११ रुपैयाँ छ ।

 


Back_to_top