किन गर्दैछ चीनले ईभी निर्यातमा कडाई ? नयाँ नियम आउने

काठमाडौं । चीनबाट कर निर्माताहरुले कम गुणस्तरको विद्युतीय कारहरु निर्यात थालेसँगै सरकारले त्यसमा रोक लगाउने भएको छ । चीन सरकारले देशकै बदनाम गर्ने गरी कमसल विद्युतीय साधन निर्यात गरेको भन्दै निर्यात कडाई गर्ने भएको हो ।

चीनमा रहेको राम्रा र ठूला कार निर्माताहरुले नै कम गुणस्तरको साधन निर्यात भइरहेको भन्दै त्यसलाई रोक्न सरकारसँग माग गर्दै आएका थिए । ब्यवसायीहरुको माग अनुसार नै चीन सरकारले इलेक्ट्रीक भेहिकल निर्यातका लागि ‘एक्पोर्ट लाइसेन्स’ लिनु पर्ने व्यवस्था गर्ने भएको हो ।

एक्सपोर्ट लाइसेन्स लिनको लागि अब प्रत्येक प्यासेन्जर ईभी उत्पादकले आफ्नो निर्यात योग्यता, उत्पादन प्रकृया र व्यवस्थापन विधि खुलाएर लाइसन्सको लागि आवेदन दिनु पर्ने हुन्छ ।

नयाँ ब्यवस्थाले चिनियाँ ईभी कम्पनीहरुलाई अनाधिकृत च्यानलहरुबाट विदेशमा आफ्नो गाडी बिक्री गर्न समेत रोक लगाउने छ । अनधिकृत च्यानलहरुबाट अन्तर्राष्ट्रिय बजारमा ईभी बिक्री गर्दा सफ्टवेर अपडेट हुन नसकेको र आफ्टर सेल्स सर्भिसमा पनि समस्या पर्दै आएको रिपोर्टहरु सार्वजनिक भएका थियो ।

चीनले सन् २०२५ को जनवरीदेखि अगस्टसम्ममा १४ लाख ४० हजार प्योर ईभी निर्यात गरेको छ । यो अघिल्लो वर्षको भन्दा २७ प्रतिशतले धेरै हो ।

अहिले चिनियाँ ईभीहरुको मुख्य बजार युरोपियन युनियनका देशहरु छन् । साउथ इस्ट र मिडिल इस्ट एसियाका देशहरुमा समेत चिनियाँ ईभी ब्राण्डहरुको बलियो उपस्थिति रहेको छ ।


Back_to_top