काठमाडौं । विश्वकै सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी बीवाइडीले ३० वर्षमा १ करोड युनिट कार उत्पादन गरेको छ । विश्व बजारमा केही वर्षदेखि चर्चाको शिखरमा रहेको बीवाइडीले स्थापनाको ३० वर्ष पूरा गरेको हो ।
तीन दशक लामो यात्रालाई सम्झदै कम्पनीका सीईओ वाङ चाङफुले आफ्नो लागि यो उपलब्धी कोशेढुङ्गा भएको बताए । ३० वर्ष पूरा गरेको उपलक्ष्यमा कम्पनीले विशेष कार्यक्रम आयोजना गरेको थियो ।
सन् १९९५ मा चीनको सान्जेन सहरमा स्थापना भएको बीवाइडीसँग सुरूमा २० जना कर्मचारी थिए । यसको सुरुआती क्यापिटल ३ लाख ४५ हजार डलर थियो । अहिले कम्पनी विश्वकै ठूलो न्यू इनर्जी भेहिकल उत्पादक बन्दा ऊसँग विश्वभर ९ लाख कर्मचारी पुगेको छ ।
बीवाइडीले ब्याट्री उत्पादनमा काम थालेको १९९८ बाट हो । उसले सुरूमा मोबाइल फोन निर्माता मोटोरोला र नोकियालाई ब्याट्री सप्लाई गरेको थियो । स्थापनाको छोटो समयमा नै चीनको दोस्रो ठूलो ब्याट्री निर्माता बनेको कम्पनी अहिले पनि दोस्रो ठूलो निर्माता नै हो ।
बीवाइडीले कार उत्पादन थालेको सन् २००३ मा हो । कार उत्पादन थालेको २१ वर्षमा नै १ करोड यूनिट उत्पादन पूरा गरेको छ । सुरुमा कम्पनीले पेट्रोलियम पदार्थबाट चल्ने कार उत्पादन गरेको थियो । उसले न्यू इनर्जी भेहिकलको उत्पादन भने सन् २००८ मा थालेको हो । उसको पहिलो मोडल एफ–३ई थियो ।
अहिले बीवाइडीसँग एक दर्जनभन्दा धेरै न्यू इनर्जी भेहिकल मोडल छन् । त्यसको भेरियन्टहरु थुप्रै पाउन सकिन्छ । याङवाङ, डेन्ज जस्ता ब्राण्डमा पनि कार उत्पादन गर्दै आएको बीवाइडी ब्याट्री टेक्नोलोजी र कार उत्पादनमा विश्वभर आफ्नो प्रभाव छाड्न सफल ब्राण्ड बनेको छ ।

