नेटाले पायो सरकारी लगानी, ५०% खर्च कटौती गर्दै

काठमाडौं । केही समयदेखि आर्थिक समस्या झेलिरहेको होजोन अटो (नेटा) लाई चीनको नानीङ सिटीको स्थानिय सरकारले लगानी गर्ने भएको समाचार बाहिर आएका छन् । नगद प्रवाहमा समस्या आएपछि नानीङ इन्ड्रस्ट्रीयल इन्भेस्टमेन्ट ग्रुपले होजोन अटोसँग रणनीतिक साझेदारी गर्दै लगानी गर्न लागेको समाचार चिनियाँ मिडियाले लेखेका छन् ।

सरकारी कम्पनीले नेटालाई सप्लाई चेन दुरुस्त राख्न आर्थिक सहयोग गर्ने भएको हो । जसमा कच्चापदार्थ खरिद गर्न, उत्पादन तथा लजिस्टीक दुरुस्त बनाउन पैसा खर्च गर्नेछ ।

यसका साथै नानीङ प्लान्टमा उत्पादन हुने नकडाउन किट निर्यात गर्न समेत नेटाले इन्भेष्टमेन्ट कम्पनीको सहयोग पाउनेछ । यदि, यो सहयोग हुने हो भने नेटाले अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिरहेको मोडलहरुको सप्लाई बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

नानीङ इन्डष्ट्रीयल इन्भेष्टमेन्ट ग्रुपको वेवसाइटका अनुसार सन् २०१३ मा नानीङ सिटी गभर्मेन्टको नेतृत्वमा स्थापना भएको कम्पनीको मुख्य उद्देश्य औद्योगीक लगानी तथा व्यवस्थापन, पार्क कन्स्ट्रक्सन तथा व्यवस्थापन, एसेट्स अप्रेशन तथा मेनेजमेन्ट जस्ता काम गर्दै आएको छ ।

उता सन् २०१४ मा स्थापना भएको होजोन अटोले २०१८ बाट इलेक्ट्रीक कार उत्पादन थालेको हो । सुरुदेखि नै पुँजी संकलनका लागि हंङकंङ स्टक एक्सचेन्जमा निवेदन दिएको कम्पनीको थप प्रक्रियाको विषयमा कुनै जानकारी बाहिर आएको छैन ।

केही साता अगाडि कम्पनीले अप्रेशनमा समस्या आएपछि उत्पादन नै बन्द गरेको थियो । उत्पादन बन्दपछि व्यापक कर्मचारी कटौती गरिरहेको समाचारहरु स्थानीय मिडियाले लेखेका थिए । मिडिया रिपोर्टहरुका अनुसार कम्पनीले ७० प्रतिशतसम्म कर्मचारी कटौती गरेको छ । जसले समग्रमा नेटाको ५० प्रतिशतभन्दा धेरै खर्च कटौती हुने अनुमान गरिएको छ ।

नेटाको चीनमा उत्पादनमा समस्या भएपनि अन्तर्राष्ट्रिय प्लान्ट भने पूर्ण क्षमतामा चलिरहेको छ । नेटाले थाइल्याण्ड र इन्डोनेशियामा रहेको उत्पादनबाट कार उत्पादन गरिरहेको छ । मलेसिया र बोलिभियामा नयाँ प्लान्ट निर्माण चलिरहेको जनाएको छ ।


Back_to_top