एउटै डिलमा १ लाख कार बिक्री गर्दै बीवाइडी

काठमाडौं । विश्वकै ठूलो न्यू इनर्जी भेहिकल निर्माता बीवाइडीका १ लाख कार उबरले प्रयोग गर्ने भएको छ । उबर टेक्नोलोजी र बीवाइडीले लामो सम्झौता गर्दै १ लाख बीवाइडीका इलेक्ट्रीक भेहिकल उबरको ‘राइड हेलीङ प्लेटफर्म’मा प्रयोग गर्ने जानकारी दिएको हो ।

यी दुई कम्पनी बीचको सम्झौता अनुसार सुरुमा युरोप र ल्याटिन अमेरिकाबाट विद्युतीय कारको प्रयोग शुरु हुनेछ । त्यसको लगत्तै मध्य पूर्व, क्यानाडा, अष्ट्रेलिया र न्यूजल्याण्डमा विस्तार हुनेछ ।

दुई कम्पनीले गरेको सम्झौतामा उबर चालकहरुलाई सस्तो मूल्य र सहज वित्तिय उपलब्धता गराउने विषय उल्लेख छ । यसका अलावा उबरको रुपमा प्रयोग हुने गाडीको भेहिकल मेन्टीनेन्स, चार्जिङ, फाइनान्सीङ तथा लिजीङ सुविधा दुबै कम्पनी मिलेर दिनेछन् ।

अहिले विश्वमा ईभीको बिस्तार भइरहेता पनि मूल्य लगायतको खर्च धेरै गर्नु पर्ने हुँदा राइड हेलीङ विजनेशमा ईभीको प्रयोग भएको छैन । विश्वव्यापी रुपमा खडा भएको क्लाइमेट चेन्जको कन्सर्नका कारण सबैतीर ग्रिन हाउस ग्यासको इमिसन घटाउनु पर्ने वाध्यता रहेको छ । जसका कारण यातायात क्षेत्रमा विद्युतीकरणमा सबैले जोड दिइरहेका छन् ।

भविष्यमा उबर र बीवाइडीले मिलेर राइड हेलीङमा सेल्फ ड्राइभिङ टेक्नोलोजीको समेत प्रयोग गर्ने योजना बनाएका उबरका सीईओ दारा खोस्रोशाहीले बताएका छन् ।


Back_to_top