काठमाडौं । बीवाइडीले आफ्नो इन्ट्री लेभल मोडल सिगल ह्याचव्याकको नयाँ अपडेटेड मोडल चीनमा सार्वजनिक गरेको छ । कम्पनीले २०२५ मोडल भन्दै सार्वजनिक गरेको सिगलमा दुई ब्याट्री अप्सन पाउन सकिन्छ ।
कम्पनीले ३०.०८ र ३८.८८ किलोवाट आवरको ब्याट्री दिएर यसलाई बजारमा ल्याएको हो । कम्पनीले यसमा केही कुरा मात्रै परिमार्जन गरेको छ । पहिलो पटक इलेक्ट्रीक एड्जस्टेवल ड्राइभर सिट दिएर सिगललाई बजारमा उतारेको हो । साथै, डिप ओसियन ब्लू र डनी पिंक कलर अप्सन थप गरेको छ ।
बीवाइडीको ई-प्लेटफर्म ३.० मा बनेको सिगल कारको साइजमा कुनै परिवर्तन भएको छैन । कारको पछाडि भागमा दिइएको ब्यूल्ड योर ड्रीमलाई हटाएर बीवाइडी मात्रै प्रयोग भएको छ । अगाडिको डिजाइन पहिलेकैलाई निरन्तरता दिइएको छ ।
इन्टेरियरमा पनि ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, १०.१ इन्चको रोटेवल इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । यसमा ओटीए अपडेट, चार स्पीकर, भ्वाइस इन्ट्रिगेसन, किलेस इन्ट्री जस्ता फिचर छन् ।
डिसी फास्ट चार्जर सपोर्ट गर्ने सिगलमा ५५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध छ । यसमा रहेको ठूलो ब्याट्रीले ४०५ किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । कम्पनीले चनिमा ९ हजार ७०० देखि १२ हजार अमेरिकी डलर मूल्य तोकेर यसको बिक्री हुनेछ ।
बीवाइडीले नेपाली बजारमा सिगल अहिलेसम्म ल्याउने योजना सार्वजनिक गरेको छैन । कम्पनीको इन्ट्री मोडलको रुपमा डल्फीन मोडल यहाँ उपलब्ध छ । सबैभन्दा प्रिमियम मोडलको रुपमा सिल सेडान बिक्री हुँदै आएको छ ।