काठमाडौं । एसआरएमको आधिकारीक बिक्रेता पुजा कन्ट्रक्सनले एसआरएमको २ र ५ सिट क्षमता भएका विद्युतीय कार्गो भ्यान ल्याउने भएको छ । कम्पनीले नाडा अटो शो २०२४ बाट बिक्री सुरु गर्ने योजनासहित कार्गो भ्यान ल्याउन लागेको हो ।
कम्पनीले बिक्री गर्दै आएको ११ सिट क्षमताको माइक्रो भ्यानलाई नै कार्गो भ्यानको रुपमा ल्याउन लागेको हो । कम्पनीले विशेषगरी खाद्य सामाग्री लगायतका बस्तु ओसार सपसार गर्न सहज हुने कार्गो भ्यान ल्याउन लागेको हो ।
एसआरएमको कार्गो भ्यानमा ४१.८६ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्रयोग भएको छ । साथै, यसमा ६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । कार्गो भ्याने बोक्ने लोड लगायतका सुचना बाहिर ल्याएको छैन ।
पुजा कन्ट्रक्सनले ५ जना यात्रु र कार्गो बोक्न मिल्ने भ्यानको मूल्य ४० लाख रुपैयाँ र २ जना यात्रु र कार्गो बोक्न मिल्ने भ्यानको मूल्य ३८ लाख रुपैयाँ कायम गरेर बिक्री सुरु गर्न लागेको हो । यी दुई भेरियन्टमा मूल्य र सिट क्षमता बाहेक अन्य फरक रहने छैन ।
कार्गो भ्यान एक्स-३० एल ईभीको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघन्टा रहेको छ । साथै, यसमा रहेको ब्याट्रीलाई फुल चार्ज गर्दा ३०० किलोमिटर रेन्ज दिने जनाइएको छ । यसमा १८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।