एटो वान टेस्ट ड्राइभः रेन्ज र पर्फमेन्सको ‘सरप्राइज प्याकेज’

काठमाडौं । बीवाइडीको इन्ट्री मोडलको रुपमा बजारमा उपलब्ध एटो वान रेन्ज र पर्फमेन्सको सरप्राइज प्याकेजको रुपमा पाउन सकिन्छ । लगभग सब फोर मिटर एसयूभी सरहकै साइजमा उपलब्ध ह्याचव्याक आफ्नो डिजाइन र लुक्सको कारण पनि संसारभर चर्चा कमाइरहेको मोडल हो ।

मैले काठमाडौंको उत्तर पूर्वमा रहेको जहरसिंह पौवादेखि शिबपुरी राष्ट्रिय निकुन्ज भित्र यसलाई चलाएर हेरेको थिए । त्यसमा पनि फुल लोड ५ जना बसेर जहरसिंह पौवा जाने उकालोमा यसलाई चलाउँदा कुनै १०० किलोवाट क्षमताको एसयूभी चलाएको भन्दा फरक थिएन ।

यसको सबैभन्दा बलियो पक्ष ‘ड्राइभिङ डाइनामिक्स’ देखियो । एटो वान ह्याचव्याक कार भएपनि चलाउँदा कम्प्याक्ट एसयूभीको अनुभव प्रदान गर्न सक्षम छ । साथै, यसको रेन्ज डब्लूएलटीपीले प्रमाणित गरे अनुसार नै पाउन सकिन्छ । मैले टेस्ट ड्राइभमा टप भेरियन्ट प्रयोग गरेको थिए । जसको रेन्ज ३०० किलोमिटर दावी गरिएको छ । फुल लोड राखेर १०० किलोमिटर केबल ३१ प्रतिशत चार्जमा पुरा गर्न सकेको थिए ।

यसमा दिइएको ४५ किलोवाटको इलेक्ट्रीक मोटरले नर्मल मोडमा उत्कृष्ट पावर प्रदान गर्छ । यसको पावर र रेन्जको कारण अन्य प्रतिस्पर्धीलाई राम्रै चुनौती प्रस्तुत भएको छ । बीवाइडीको ब्याट्री टेक्नोलोजीको विश्वसनियतालाई यसले थप पुस्टी गरेको छ ।

क्याविनमा बस्दा अलग अनुभूती

एटो वानको ड्राइभङि सिटमा बसेपछि अलग अनुभूती गर्न सकिन्छ । बाहिरबाट हेर्दा निकै सानो क्याविन छ कि जस्तो भान हुने गाडीमा भित्र प्रसस्त स्पेश पाउन सकिन्छ । ‘फ्ल्याट फ्लोर’ भएको कारण अगाडि र पछाडिका कुनै पनि प्यासेन्जरले सानो कारको महसुस गर्नु पर्दैन । तर, पछाडिको प्यासेन्जरको लागि प्रसस्त स्थान बनाउने चक्करमा बुट स्पेश भने केही सानो भएको छ ।

सेन्टर कन्सोल र ड्यासबोडको कम्बिनेसन उत्कृष्ट छ । सेन्टर कन्सोलको तल्लो भागमा दिइएको चार्जर र केही सामान राख्ने स्पेश निकै उपयोगी लाग्छ । ग्लोब बक्स र ढोकामा दिइएको स्पेश ठिकठाकको छ । दुई ठूला कप होल्डर पर्फेक्ट छ । सिटको क्वालिटीले जोसुकैलाई सजिलै तान्छ ।

पछाडि बसेर यात्रा गर्ने यात्रुको लागि मोवाइल चार्जर छैन । त्यस्तै एसी भेन्ट पनि छैन । जसका कारण गाडी नै चिसो बनाएपछि पछाडिका यात्रुले एसीको अनुभूती गर्छन् ।

बाहिरी बनोट

यसको डिजाइनले विश्वभर एकपछि अर्को सफलता हात पार्दै आएको छ । सानो अर्वान कारको रुपमा एटो वानलाई विश्व अटोमोबाइल बजारमा सरप्राइज प्याकेजको रुपमा ब्याख्या गरिँदै आएको छ ।

निकै स्मार्ट फ्रन्ट डिजाइनमा उपलब्ध एटो वानको लाइटहरुको बनोट पनि उत्कृष्ट छ । दुई एलइडी डे टाइम रनिङ लाइटको बीचमा दिइएको प्रोजेक्टर हेडल्याम्प यसको अर्को बलियो पक्ष हो । पछाडि दिइएको कनेक्टेड टेल लाइट पनि उत्कृष्ट छ । लाइटकै कारण यसको डिजाइन थप बलियो देखिन्छ ।

गाडीको बडीमा प्रयोग भएका एजहरु र ठूलो बडी क्लाडिङसँगै स्पोर्टी बम्परले यसलाई पृथक देखाएको छ । साथै, बाहिर निस्केको स्पोइलर र त्यसको बीचमा प्रयोग भएको हाइ माउन्ट ब्रेक लाइट निकै आकर्षक लाग्छ । फरक डिजाइनको ह्वील आर्क र १६ इन्चको मल्टी स्पोक अलोय ह्वीलले रोड प्रेजेन्ससँगै चलाउन सहज बनाएको छ । १७५ एमएम अग्लो ग्राउन्ड क्लियरेन्समा पनि कुनै समस्या छैन ।

साइमेक्स इंकले दुई भेरियन्टमा ल्याएको एटो वानको इन्ट्री भेरियन्ट २८ लाख ९५ हजारमा किन्न सकिन्छ । तर, मैले टेस्ट ड्राइभ गरेको भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ छ ।

अन्त्यमा

यदि, तपाई सानो ह्याचव्याक कार खोज्दै हुनुहुन्छ भने तपाईको लागि एटो वान एउटा विकल्प पक्कै हो । चल्तीको ब्राण्ड, नेपाल भित्र बलियो नेटवर्क र सर्भिसमा केन्द्रित कम्पनीका हिसावले पनि आधिकारीक बिक्रेता साइमेक्स इंकले राखेको मूल्य राम्रो मान्न सकिन्छ ।

गाडीमा दिइएको सुरक्षा फिचर र दैनिक जीवनमा चलाउँदा आवश्यक पर्ने सम्पूर्ण फिचर भएको कारण दुविधामा पर्नु पर्दैन । आजकल फेसनको रुपमा चलिरहेको ३६० डिग्री क्यामेरा छैन । तर, सानो कारमा दिइएको ६ एयरब्यागले एटो वानलाई बलियो बनाएको छ ।


Back_to_top