काठमाडौं । जिलीको सेमी प्रिमियम ब्राण्ड जिकरले आफ्नो सफल एसयूभी ‘सेभेन एक्स’लाई ९०० भोल्ट आर्किटेक्चरमा तयार गरेको छ । कम्पनीले अपग्रेड गरेको सेभेन एक्स चीनमा प्रि-सेल्स सुरु भएको हो ।
विभिन्न तीन भेरियन्टमा चीनमा बिक्री खुला भएको जिकर सेभन एक्समा दुई ब्याट्री अप्सन र दुई ड्राइभिङ सिस्टम दिइएको छ । जिकरले सेभेन एक्सलाई ७५ किलोवाट आवर र १०३ किलोवाट आवरको दुई ब्याट्री दिएको हो ।
सानो ब्याट्री केबल रियर ह्वील ड्राइभ सिस्टममा मात्रै उपलब्ध छ । तर, ठूलो १०३ किलोवाट आवरको ब्याट्रीमा भने दुई भेरियन्ट छ । जसमा रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ मोटर जडान गरिएको छ ।
सीएलटीसीका अनुसार सानो ७५ किलोवाट आवरको ब्याट्री भएको भेरियन्टले सिंगल चार्जमा ६२० किलोमिटर रेन्ज प्रदान गर्छ । जबकी ठूलो ब्याट्रीको रियर ह्वील ड्राइभ भर्सनले ८०२ र अल ह्वील ड्राइभ भर्सनले ७१५ किलोमिटर रेन्ज प्रदान गर्छ ।
निकै पावरफुल मोटर जडान भएको जिकर सेभेन एक्सको इन्ट्री भेरियन्टमा ३७० किलोवाट क्षमताको मोटर छ । साथै, अल ह्वील ड्राइभ मोटरको संयुक्त पावर ५८५ किलोवाट छ । उक्त मोटरले सून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड केबल २.९८ सेकेन्डमा भेट्टाउने कम्पनीको दावी छ ।
जिकरले आफ्नो सफल एसयूभीमा जि-पाइलट सिस्टमको प्रयोग गरेको छ । यसमा हाइडेफिनेसन म्याप सहितको डोर टु डोर नेभिगेसन उपलब्ध हुनेछ ।

सेभेन एक्समा नयाँ ९०० भोल्ट आर्किटेक्चर प्रयोग भएकै कारण यसको चार्जिङ क्षमता वृद्धि भएको छ । अब केबल १० मिनेटमा सेभेन एक्सलाई ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।
नेपाली बजारमा अहिलेसम्म जिकरले एउटा मात्रै मोडल उपलब्ध गराएको छ । जिकर एक्स नेपालमा किन्न पाइएपनि सेभन एक्स अहिलेसम्म आउन सकेको छैन । ठूलो मोटर भएको कारण राजश्व धेरै तिर्नु पर्ने र गाडीको मूल्य उच्च हुने भएको कारण सेभेन एक्स नेपाल नआएको हो ।
साइजका हिसावले नेपाली बजारमा उपलब्ध दीपल एस-०७, बीवाइडी सिलायन र एमजी आइएम सिक्स बराबरकै जिकर सेभेन एक्सको लम्बाइ ४८२५ एमएम, चौडाइ १९३० एमएम र उचाइ १६६६ एमएम छ । यसमा २९२५ एमएम लामो ह्वीलवेस दिइएको छ ।
यसमा दिइएको स्कृन पनि निकै ठूला छन् । कम्पनीले १५.०५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम र १३.०२ इन्चको इन्फर्मेसन डिस्प्ले दिएको छ । फ्ल्याट वटम स्टेरिङ ह्वील, फ्रेमलेस डोर, माइनस ६ डिग्रीदेखि ५० डिग्री तातोसम्म बनाउन मिल्ने रेफ्रीजेरेटर यसमा दिइएको छ ।

