काठमाडौं । चिनियाँ क्लिन इनर्जी भेहिकल उत्पादक बीवाइडीले विश्वभर तीव्र गतिमा आफ्नो नेटवर्क विस्तार गरिरहेको छ । यसअघि लेफ्ट ह्याण्ड गाडी विक्री हुने बजारलाई केन्द्रमा राखेर अगाडि बढेको कम्पनीले राइट ह्याण्ड ड्राइभ भएका देशमा पनि तीव्र विस्तार सुरू गरेको हो ।
राइट ह्याण्ड ड्राइभ रहेको भारत, जापान, अष्ट्रेलिया, सिंगापुर, बेलायत जस्ता देश बीवाइडीको प्राथमिकतामा परेका छन् । कम्पनीले आफ्नो नयाँ एसयूभी एटो थ्रीको बजारीकरण सुरू गरेसँगै यी देशलाई प्राथमिकतामा राखेर नयाँ मोडल बजारमा पठाइरहेको छ ।
दक्षिण एशियाली देशमध्ये सबैभन्दा पहिला नेपाल आएको बीवाइडीले अबको केही दिनमा नै नेपालमा पनि एटो थ्री सार्वजनिक गर्दैछ । साथै, कम्पनीले नेपालमा नयाँ रणनीति अपनाएर बजार विस्तार गर्ने तयारी गरिरहेको छ ।
कम्पनीले काठमाडौंको नक्शालमा आफ्नो पहिलो ‘स्टेट अफ दी आर्ट’ शोरुम संचालनमा ल्याउँदैछ । आक्रमक रणनीति बनाए पनि अहिले डलरको एक्स्चेन्ज रेट बढ्दा मूल्यमा भने थप दबाब परिरहेको कम्पनीको भनाइ छ ।
बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंकले अहिले विक्री गर्दै आएको बीवाइडी ‘अल न्यू इ सिक्स’को मूल्य बढाउनु पर्ने अवस्था आएको यसअघि नै बताएको थियो । अबको केही दिन भित्रै कम्पनीले ई–सिक्सको मूल्य बढाउने जनाएको छ ।
लगातार बढिरहेको डलरको मूल्य र बजेटले बढाएको करले बीवाइडी एटो थ्रीको मूल्य भने ८५ लाखभन्दा माथि जाने अनुमान गरिएको छ । अहिले सार्वजनिक भएका अष्ट्रेलिया, सिंगापुर, जापान जस्ता देशको तुलनामा नेपालमा विद्युतीय गाडीको ‘स्वीकार्यता’ बढी भए पनि महंगो मूल्यको कारण समस्या देखिएको हो । यद्यपि, सरकारले विद्युतीय गाडीको प्रयोग बढाउन सरकारले कर छुट दिन परे पनि तयार रहेको यसअघि मन्त्रिपरिषद्बाट निर्णय गराएको कारण समायोजन हुन सक्ने आँकलन गरिएको छ ।
बीवाइडीले आफ्नो उत्पादन क्षमता तीव्र गतिमा बढाइरहेको छ । त्यही कारण खुद्रा विक्रीमा उसले टेस्लालाई उछिनेर अगाडि बढेको हो । बीवाइडी गाडीसँगै ठूलो ब्याट्री उत्पादक पनि हो । कम्पनीले उत्पादन गरेको पछिल्लो ब्लेड ब्याट्री अहिले निकै चर्चामा रहेको छ । नयाँ ई– सिक्सलगायतका बीवाइडीले नेपाल ल्याउने सबै गाडीमा ब्लेड ब्याट्री प्रयोग गरिरहेको छ ।


