काठमाडौं । विद्युतीय सवारी साधनको विकासमा चीनले आफ्नो सम्पूर्ण शक्ति लगाइरहेको छ । चिनियाँ सरकारको लक्ष्य प्राप्तीमा बीवाइडीले नयाँ नयाँ इनोभेसन गर्दै न्यू इनर्जी भेहिकलको बजारमा आफुलाई अब्बल बनाएको छ ।
बीवाइडीले १०-सी मेगावाट चार्जिङ सपोर्ट गर्ने ब्याट्री तयार पारेको हो । कम्पनीले आफ्नो १००० भोल्ट आर्किटेक्चरमा सपोर्ट गर्ने १०-सी ब्याट्री उत्पादन गरेर बजारमा ल्याएको हो । यो ब्याट्रीलाई ५ मिनेट चार्ज गर्दा ४०० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।
बीवाइडीले १००० भोल्ट आर्किटेक्चरमा आफ्नो दुई मोडल सार्वजनिक गरिसकेको छ । कम्पनीले हान एल ईभी र टाङ एल ईभीलाई सुपर ई-प्लेटफर्मको प्रयोग गरेर बजारमा ल्याएको हो । कम्पनीका अनुसार यी गाडीमा दिइएको ब्याट्री चार्ज गर्न १००० किलोवाटको डिसी फास्ट चार्जर चाहिन्छ । बीवाइडीले उक्त चार्जर पनि सार्वजनिक गरेको हो ।
विश्वकै पहिलो १००० किलोवाटको चार्जर प्रयोग गर्न विजुली कति चाहिन्छ भन्ने जिज्ञासा तपाईको मनमा हुनसक्छ । उक्त चार्जर चलाउन १००० भोल्ट र १००० एम्पीयर अर्थात् १ मेगावाट विद्युत चाहिन्छ ।

