ब्याट्रीमा बीवाइडीको अर्को ठूलो ‘मुभ’

काठमाडौं । ब्याट्री उत्पादन र त्यसको प्रयोगबाट विश्वका स्थापित अटोमोवाइल ब्राण्डहरुलाई हायल कायल बनाउँदै आएको बीवाइडीले ब्याट्रीमा उत्पादनमा अर्को ठूलो ‘मुभ’ बनाएको छ । कम्पनीले सोडियम आयोन ब्याट्रीको उत्पादन प्लान्ट निर्माण थालनी गरेको हो ।

विश्वकै दोस्रो ठूलो हाइभोल्टेज ब्याट्री उत्पादक कम्पनी ‘फिनड्रिम्स’ले सोडियम आयोन ब्याट्री उत्पादन प्लान्टको सिलान्यास गरेको छ । फिनड्रिम्स विश्वको सबैभन्दा ठूलो ‘न्यू इनर्जी भेहिकल’ उत्पादक बीवाइडीको सहायक कम्पनी हो ।

कम्पनीले बेइजिङ र संघाईको बीचमा रहेको जुझाउ सहरमा नयाँ प्लान्ट बनाउन सुरु गरेको हो । उक्त प्लान्ट निर्माण गर्न कम्पनीले १० बिलियन युवान अर्थात १.४ बिलियन डलर लगानी गर्ने बताएको छ । प्लान्ट संचालनमा आएपछि वार्षिक ३० गिगावाट आवर ब्याट्री उत्पादन हुनेछ ।

ब्लेड ब्याट्रीको सफलतापछि फिनड्रिम्सले गत नोभेम्बर १८ मा ह्वाइहायमा ग्रुपसँग जुझाउमा सोडियम आयोन ब्याट्री प्लान्ट लगाउन सम्झौता गरेको थियो । कम्पनीले यसअघि पनि ह्वाइहायसँगै मिलेर ब्लेड ब्याट्री बनाएको हो ।

नयाँ प्लान्टबाट आउँदो मार्चबाट परिक्षण उत्पादन सुरु गर्ने योजना कम्पनीले अगाडि सारेको छ । कम्पनीले कुन मोडलबाट सोडियम ब्याट्री लन्च गर्छ भन्ने अहिलेसम्म खुलाएको छैन ।

प्रकृतिमा सहजै पाइने सोडियम अर्थात् नुनको वेसमा बन्ने भएकोले सोडियम ब्याट्री रेगुलर लिथिएम आयोन ब्याट्रीभन्दा निकै सस्तो हुनेछ । तर, यसमा कम इनर्जी डेन्सीटी हुने भएकाले स्कुटर तथा साना कारहरु र इनर्जी स्टोरेजमा बढि प्रयोग भइरहेको छ ।


Back_to_top