बीवाइडी ‘युआन’ क्रसओभरको बिक्री १ लाख यूनिट पुग्यो, यसकारण आएन नेपाल

काठमाडौं । चिनियाँ इलेक्ट्रीक सवारी उत्पादक कम्पनी बीवाइडीले बनाएको प्यासेन्जर क्रसओभर एसयूभी ‘युआन’ चीनमा निक्कै लोकप्रिय बनेको छ । उत्पादन सुरु भएको दुई वर्षमा कम्पनीले १ लाख यूनिट युआन बिक्री गरेको तथ्यांक बाहिर आएको छ ।

युआनको उत्पादन बीवाइडीले सन् २०१८ बाट सुरु गरको हो । यति छोटो समयमा एक लाख यूनिट उत्पादन पुग्ने यो पहिलो चिनियाँ इलेक्ट्रीक कार हो ।

बीवाइडी युआन स्मल इलेक्ट्रीक क्रमओभर एसयूभी हो । यो प्लग-इन कार सेगमेन्टमा चीनको सबैभन्दा धेरै बिक्री हुने कार भएको छ । यस एसयूभीमा ५३.२२ किलोवाट क्षमताको व्याट्री प्रयोग भएको छ । यो भर्सनलाई कम्पनीले इभी-५३५ भनेको छ । यसको कारण हो युआन इभीले एक पटकको फुल चार्जमा ५ सय ३५ किलोमिटर रेञ्ज प्रदान गर्छ ।

यसलाई स्लो स्पीड वा हाई स्पीड मोडमा गुडाउँदा फरक रेञ्ज प्रदान गर्छ । स्लो स्पीडमा ५ सय ३५ किलोमिटर र हाई स्पीडमा ४ सय १० किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ ।

यो गाडीको मूल्य १ लाख ९ हजार ९ सय चिनियाँ युआन (१५ हजार ९ सय २७ अमेरिकी डलर) रहेको छ । बीवाइडी युआनका दुवै भर्सन ७० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

बाहिरबाट झट्ट हेर्दा युआनलाई फोर्डको ग्लोवल मोडल इकोस्पोर्टसँग दाँज्न सकिन्छ । यो मोडल बीवाइडीले नेपाली बजारमा उपलब्ध गराएको छैन । कम्पनीले राइट ह्याण्ड ड्राइभ अप्सनमा युआनको उत्पादन नगरेकाले नेपाल ल्याउन नसकिएको साइमेक्स इन्कले जनाएको छ ।


Back_to_top