सार्वजनिक सवारीमा अब क्यामेरा अनिवार्य, यस्तो छ स्वीकृत मापदण्ड

काठमाडौं । अब सार्वजनिक सवारी साधनमा ड्यासक्याम तथा क्याबिन क्यामेरा अनिवार्य रुपमा राख्नुपर्ने भएको छ । पूर्वाधार विकास मन्त्रालयले ‘सुरक्षित तथा प्रविधिमैत्री सवारी संचालन सम्बन्धी मापदण्ड २०८३’ स्वीकृत गर्दै यस्तो व्यवस्था गरेको हो ।

मन्त्रालयले सार्वजनिक सवारीलाई प्रविधियुक्त, सुरक्षित, व्यवस्थित र भरपर्दो बनाई यात्रु, चालक, परिचालक तथा सर्वसाधारणको सुरक्षा अभिवृद्धि गर्न, सवारी संचालनमा हुने जोखिम तथा सडक दुर्घटना न्यूनीकरण गर्न उपकरण तथा प्रविधि जडान गर्ने मापदण्ड बनाएको हो ।

गत चैत १३ गतेको मन्त्रिपरिषद्ले स्वीकृत गरेको सरकारको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीको व्यवस्था कार्यान्वयन गर्न नयाँ मापदण्ड बनाइएको मन्त्रालयले जनाएको छ ।

नयाँ मापदण्ड अनुसार अब सार्वजनिक सवारी साधनमा फ्रन्ट ड्यासक्याम, रियर ड्यासक्याम, ड्राइभर मोनिटरिङ सिस्टम, आपतकालीन सूचना बटन (एसओएस), गाडीको लोकेशन ट्रयाक गर्ने लगायत उपकरण जडान गर्नुपर्नेछ । सवारीमा जडान हुने उपकरण सवारीसाधनको वास्तविक समयको भौगलिक स्थिति, गति, दिशा, ग्लोबल नेभिगेशन सेटलाइट सिस्टम प्रणालीमार्फत निरन्तर रुपमा निर्धारण, अभिलेख तथा प्रेषण गर्न सक्ने हुनु पर्नेछ ।

उपकरण जडानका लागि यातायात व्यवस्था विभागले सवारी साधनको वर्गीकरण गरी समयतालिका सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ । मापदण्ड अनुसार सवारीको प्रकृति अनुसार उपकरण जडान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नयाँ मापदण्ड अनुसार सफा टेम्पोले अगाडिको ड्यासक्याम तथा क्याबिन क्यामेरा सहितको सुरक्षा निगरानी क्यामेरा जडान गर्नु पर्नेछ । चालकको पहुँचभित्र एक र यात्रु क्याबिनको मध्य भागमा एक आपतकालीन सूचना बटन राख्नु पर्नेछ ।

त्यसैगरी, ट्याक्सीधनी तथा व्यवस्थापकले अगाडि ड्यासक्याम तथा पछाडिको ड्यासक्यामसहित सुरक्षा निगरानी क्यामेरा, चालक र यात्रु बस्ने क्षेत्रमा एसओएस बटन राख्नुपर्नेछ ।

स्कोर्पियो, बोलेरो, सुमो जस्ता साना सार्वजनिक यात्रुबाहक सवारीमा पनि ड्यासक्याम अनिवार्य रहेको छ। त्यसबाहेक चालकको थकान, निद्रा, ध्यान-विचलन वा असावधानीजन्य गतिविधि पहिचान गरी सतर्क गराउने चालक अनुगमन प्रणाली जडान गर्नु पर्ने मापदण्डमा उल्लेख छ ।

माइक्रो बस र मिनिबसमा ड्यासक्याम तथा क्याबिन क्यामेरा सहितको सुरक्षा निगरानी, चालकको थकान, निद्रा, ध्यान–विचलन अनुगमन प्रणाली, ड्यासक्याम, यात्रु क्याबिनको अगाडि र पछाडी क्याबिन क्यामेरा प्रणाली जडान गर्नुपर्नेछ ।

ट्रक तथा ट्यांकरमा पनि अगाडि ड्यासक्याम, सवारीसाधन रिभर्स गर्दा चालकलाई सहयोग गर्ने रिभर्स असिस्ट क्यामेरा, चालक अनुगमन प्रणाली, प्रत्येक एक्सलमा पर्ने भार मापन तथा अभिलेख गर्ने एक्सल भार मापक उपकरण जडान गर्नु पर्नेछ।

प्रत्येक सवारीसाधनमा सवारीधनी तथा व्यवस्थाकले अग्नि नियन्त्रक उपकरण तथा प्राथमिक उपचार किटको व्यवस्था गरी संचालनमा राख्नु पर्नेछ। तर सफा टेम्पो र ट्याक्सीमा भने अग्नि नियन्त्रक उपकरण अनिवार्य गरिएको छैन।

उपकरण जडान गर्दा यातायात व्यवस्था विभागले कुनै वर्ग वा किसिमका सवारीसाधनलाई छुट दिन सक्नेछ । सवारीसाधनले उपकरण जडान नगरे सवारी जाँचपासमा फेल गराउने, बाटो इजाजतपत्र दिन इन्कार/दिएको इजाजतपत्र रद्द गर्न सक्ने व्यवस्था गरिएको छ ।


Back_to_top