अहिलेसम्मकै सबैभन्दा शक्तिशाली उरुस सार्वजनिक

काठमाडौं । इटालियन सुपरकार निर्माता ल्याम्बोर्गिनीले आफ्नो चर्चित लक्जरी परफर्मेन्स एसयूभी ल्याम्बोर्गिनी उरुस परफोर्मान्ते एसई नयाँ प्लग इन हाइब्रिड इन्जिनमा आएको छ ।

नयाँ उरुस परफोर्मान्ते एसई कम्पनीले अहिलेसम्म उत्पादन गरेको सबैभन्दा शक्तिशाली उरुस बनेको हो ।

यसअघि सन् २०२४ मा सम्पूर्ण उरुस सिरिजलाई हाइब्रिडमा रूपान्तरण गर्ने क्रममा उरुस परफोर्मान्ते र उरुस एस उत्पादनबाट हटाइएको थियो । अब कम्पनीले थप शक्ति, हल्का संरचना र परिष्कृत चेसिससहित परफोर्मान्तेलाई पुनः बजारमा ल्याएको हो ।
नयाँ उरुस परफोर्मान्ते एसईमा ४।० लिटर ट्विन-टर्बो भी-८ पेट्रोल इन्जिनसँग ८ स्पिड अटोमेटिक गियरबक्स र विद्युतीय मोटरको संयोजन गरिएको छ । यसले संयुक्त रूपमा ८०१ हार्सपावर ९८१२ पीएस० र १,००० न्युटन मिटर टर्क उत्पादन गर्छ । यो पावरले नयाँ उरुस अहिलेसम्मकै सबैभन्दा शक्तिशाली उत्पादन बनाएको छ ।

गाडीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ३.३ सेकेन्डमा पूरा गर्छ । यो समय अघिल्लो पेट्रोल मात्र उरुस परफोर्मान्तेसँग समान भए पनि नयाँ मोडलले ० देखि २०० किलोमिटर प्रतिघण्टाको गति १०.८ सेकेन्डमा पूरा गर्छ । जुन उरुस एसईभन्दा ०.४ सेकेन्ड छिटो हो । यसको अधिकतम गति ३१२ किलोमिटर प्रतिघण्टा रहेको छ ।

हाइब्रिड प्रणालीका कारण तौल बढे पनि कम्पनीले कार्बन फाइबर बडी प्यानल, टाइटेनियम एक्जस्ट, हल्का ब्रेक कम्पोनेन्ट तथा हल्का इन्टेरियर सामग्री प्रयोग गरी करिब ३२ किलोग्राम तौल घटाएको जनाएको छ । पूर्ण चार्जमा यसले डब्लुएलटीपी मापदण्डअनुसार करिब ६० किलोमिटर प्योर ईभी मोडमा यात्रा गर्न सक्छ ।

चेसिसमा पनि उल्लेखनीय सुधार गरिएको छ । नयाँ डुअल च्याम्बर एयर सस्पेन्सन प्रयोग गरिएकाले तीव्र गतिमा बडी रोल ५५ प्रतिशतसम्म घट्ने र यात्राको कम्पन २५ प्रतिशत कम हुने कम्पनीको दाबी छ । साथै ट्र्याक चौडाइ १६ मिलिमिटरले बढाइएकाले स्थिरता र स्टेयरिङ नियन्त्रण अझ राम्रो भएको बताइएको छ ।

बाहिरी डिजाइनमा नयाँ कार्बन फाइबर बोनट, एस डक्ट एयर च्यानल, ठूलो एयर इन्टेक, अग्लो रियर स्पोइलर तथा उरुसमा अहिलेसम्मकै ठूलो रियर डिफ्युजर समावेश गरिएको छ । यसले एरोडाइनामिक ड्र्याग ३ प्रतिशत घटाउनुका साथै डाउनफोर्स २३ प्रतिशतले बढाएको कम्पनीको भनाइ छ ।

इन्टेरियरमा नयाँ १२.३ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले, थप कार्बन फाइबर फिनिस, विमानबाट प्रेरित कन्ट्रोल लेआउट तथा नयाँ ‘र्याली’ ड्राइभिङ मोड थपिएको छ । यसबाहेक स्ट्राडा, स्पोर्ट, कोर्सा र ईभी मोड पनि उपलब्ध छन् ।

ल्याम्बोर्गिनीले नयाँ उरुस परफोर्मान्ते एसईको मूल्य र अमेरिकी बजारमा बिक्री मिति सार्वजनिक गरिसकेको छैन । यद्यपि सन् २०२७ को सुरुआतदेखि बिक्री सुरु हुने र यसको मूल्य करिब ३ लाख अमेरिकी डलर (झन्डै ४ करोड १५ लाख रुपैयाँ) हाराहारीमा रहने अनुमान गरिएको छ ।


Back_to_top