काठमाडौं । नेपालमै सवारी साधन एसेम्बल गर्ने विषयले चर्चा पाउन थालेको दुई वर्ष भएको छ । कोरियन कम्पनी मोर्टेक्सले नेपालमा मै कार एसेम्बल गर्ने प्रस्ताव लगानी बोर्ड मार्फत गरेपछि यो विषयले चर्चा पाएको थियो ।
अहिले नाडा अटोमोवाइल एसोशिएसन अफ नेपालले भन्सार र अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने हो भने नेपालमा नै सवारी साधन एसेम्बल गर्न सकिने सुझाव सरकारलाई दिएको छ । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट पर्सि शनिवार प्रस्तुत गर्दैछ । यस्तोमा नेपालमा कार एसेम्बलको लागि सरकारले ढोका खुल्ला गर्ला त भन्ने विषयलाई अटोमोवाइल व्यवसायीले चासोका साथ हेरिरहेका छन् ।
मोट्रेक्सले नेपालमा सवारी साधन उत्पादन गर्न जमिन, कर छुट लगयात प्रस्तावसहित लगानी बोर्ड मार्फत १० अर्वभन्दा बढीको लगानी प्रस्ताव गरेको भएपनि बोर्डबाट कुनै निर्णय हुन सकेको छैन । अहिले मोट्रेक्स लगभग आफ्नो प्रस्तावबाट पछि हटिसकेको अवस्था छ ।
‘हामीले अब नेपालमै सवारी साधन एसेम्बल गर्ने बेला भयो भनेर बजेटले गाडीको एसेम्बल किट आयातमा कम्तीमा भन्सार र अन्तःशुल्कमा ५० प्रतिशत छुट दिन सुझाव दिएका छौं’, नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले मेरोअटोसँग भने ।

सरकारले नेपालमै उद्योग खोल्ने योजना निर्माण गरेको छ भने नाडाले दिएका सुझावलाई गहनरुपमा हेर्नुपर्छ अन्यथा बोलीमा एउटा र व्यवहारमा अर्को विषय हुने अध्यक्ष दुलाल बताउँछन् ।
अहिले नेपालमा लक्ष्मी ग्रुप, मोट्रेक्स, महिन्द्रा, हुलास मोर्टस् लगायतका कम्पनीले गाडी एसेम्बलको संभावना हेरिरहेका छन् ।
‘गाडी एसेम्बल उद्योगको पहिलो खुड्कीलो हो । यसबाट सफलता नपाई उत्पादनको विषयमा सोच्न सकिदैन । सुरुवातमा जोखिम धेरै मोल्न सकिने अवस्था छैन । जबसम्म तयारी बस्तु ल्याएर विक्री गर्नभन्दा यहि एसेम्बल गर्न महंगो पर्छ भने लगानी गर्ने स्थिति बन्दैन । त्यसको लागि सरकारले नै अग्रसरता लिएर लगानी गर्न व्यवसायीलाई आकर्षित गर्न सक्नु पर्छ’, लगानी गर्न तयार एक व्यवसायीले भने ।
त्यसो नेपालमा नै विद्युतीय गाडी उत्पादन गर्ने उद्योग खोल्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आग्रह गर्दै आएका छन् । उनले नेपालमा गाडी उत्पादनको लागि सरकार सहयोग गर्न तयार रहेको बताउँदै आएका थिए । यस्तोमा उनले अध्यादेशबाट ल्याउने तयारीमा गरिरहेको बजेटले कस्तो व्यवस्था गर्छ त्यो भने दुई दिनपछि प्रस्ट हुने नै छ ।


