तपाईंको घर कम्पाउण्डमा कसैले तपाईंलाई नसोधि गाडी पार्क गरे के गर्नुहुन्छ । त्यो मान्छेलाई सामान्य ‘नसिहत’ दिएर गाडी हटाउन भन्नुहुन्छ । अलि खरो स्वभावको हुनुहुन्छ भने झपार्नुहुन्छ । त्यो मानिस समझदार छ भने गल्ती स्विकार्दै माफि माग्ला, वा अली टर्रो छ भने ‘सडकमा गाडी पार्क गर्ने ठाउँ नै छैन, के गोजीमा राखेर हिँडौं त ?’ भनेर ओठे जवाफ फर्काउला । तर, यस्ता ‘सामान्य’ घटनाहरु मिडियाको चासो त बन्दैन नि ! ‘ठूला ठूला’ घटनाहरुको समाचार ब्रेक गर्ने चटारो जो छ ।
तर, पहिलो विश्व भनिने देशहरुमा चाहिँ स–साना घटानाहरु समाचारका रुपमा आइरहन्छन् । उनीहरुलाई सामान्य नै लाग्ला तर, हामीलाई भने रोचक नै लाग्न सक्छ । त्यस्तै एउटा घटना हो यो, जुन स्थानीय सञ्चार माध्यमहरुले प्रथमिकताका साथ छापेका छन् ।
आफ्नो सम्पत्तिमा अवैधानिक ढंगले अरुले पार्क गरेको गाडी घण्टौंको प्रयास पछि पनि निकाल्न नसकेपछि अमेरिकाको सिटल सहरको एक ब्यक्तिले अनौठो उपाय लगाएका छन् । उनले उक्त मर्सिडिज गाडी निकाल्नै नमिल्ने गरि बार लगाइदिएका हुन् ।

स्मिथ नाम गरेका ती ब्यक्तिले स्थानीय पत्रिकालाई बताए अनुसार ‘सेयर कम्पनी’ नाम गरेको एक कम्पनीकोे स्वामित्वमा रहेको उक्त गाडी निकाल्नका लागि उनले कम्पनीलाई २ घण्टाको समय दिएका थिए । तर, ६ घण्टासम्म पनि अबैधानिक ढंगले अरुको कम्पाउन्डमा पार्क गरिएको गाडी हटाउन कसैले पनि चासो देखाएन ।
त्यसपछि स्मिथले उक्त कम्पनीलाई फोन गरेर गाडी आफैं हटाइदिने प्रस्ताव राखे । तर, उनी कम्पनीको सदस्य नभएका कारण उनले गाडी चलाउन नमिल्ने जानकारी दिइयो ।
उनले गाडी उठाएर लैजाने कम्पनी (टो गर्ने कम्पनी) लाई फोन गरे । तर, उनीहरुले प्रहरीलाई सम्पर्क गर्न सुझए । प्रहरीलाई सम्पर्क गर्दा टो कम्पनी सँगै सहकार्य गर्न सुझाव दिए । त्यसपछि उनले आजित भएर गाडी भित्रै थुनेर अस्थायी बार लगाइदिएको स्थानिय पत्रिकालाई बताएका छन् ।
स्मिथले यसरी अर्काको सम्पत्तिमा अवैधानिक ढंगले गाडी पार्क गर्दा घरलाई क्षति पुगे वा घरका कोही सदस्यलाई केही भए को जिम्मेवार ? भन्ने जस्ता प्रश्नहरु गरेका छन् । उनले पार्क गरे बापत दैनिक ६५ डलर र अनावश्यक तनाव दिए बापत ५ सय डलर क्षतिपुर्तीको माग गरेका छन् ।
उता, कम्पनीका प्रवक्ताले भने आफ्नो कम्पनीले साँचो मनले समस्या समाधान गर्न खोजेको तर स्मिथले अनावश्यक अड्को थापेको बताएका छन् । यही खिचातानीमा गाडी अहिलेसम्म (समाचार प्रकाशन गर्नु अघिसम्म) पनि हटेको छैन ।


