अप्रिल महिनामा कति बिक्यो भारतमा कार ?

काठमाडौं । भारतीय बजारमा २०१८ को अप्रिलमा प्यासेन्जर सवारीको बिक्री ७.५ प्रतिशतले वृद्धि भएको छ । सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सले सार्वजनिक गरेको तथ्यांकअनुसार २०१८ को अप्रिलमा २ लाख ९८ हजार ५ सय ४ वटा प्यासेन्जर सवारी बिक्री भएको हो । 

गतवर्षको सोही अवधिमा भारतमा २ लाख ७७ हजार ६ सय ८३ वटा प्यासेन्जर सवारी बिकेको थियो । 

त्यस्तै, भारतको आन्तरिक बजारमा कारको बिक्री २०१७ को अप्रिलको तुलनामा ४.८९ प्रतिशतले बढेर यो वर्षको अप्रिलमा २ लाख १ सय ८३ वटा बिक्री भएको हो । मोटरसाइकलको बिक्री पनि २०१७ अप्रिलको तुलनामा १९ प्रतिशतले बढेको छ । 

अघिल्लो वर्षको अप्रिलमा १० लाख २९ हजार ९ सय ६३ वटा मोटरसाइकल विकेकोमा २०१८ को अप्रिलमा १९.३८ प्रतिशतले बढेर १२ लाख २९ हजार ५ सय २६ पुगेको हो । समग्र दुईपांग्रे सवारीको बिक्री भने यो अप्रिलमा १६.९२ प्रतिशतले बढेर १९ लाख ५८ हजार २ सय ४१ पुगेको छ । २०१७ को अप्रिलमा १६ लाख ७४ हजार ७ सय ८७ वटा दुईपांग्रे सवारी विकेको तथ्यांक छ । 

कमर्सियल सवारीको बिक्री २०१७ को अप्रिलको तुलनामा यो वर्षको सोही महिनामा ७५.९५ प्रतिशतले बढेर ७२ हजार ९ सय ९३ पुगेको छ । २०१८ को अप्रिलमा सबै वर्गका सवारी गरी कुल २३ लाख ७९ हजार ७ सय १८ वटा दर्ता भएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १७.४४ प्रतिशतले धेरै हो । 


Back_to_top