पर्फेक्ट फ्याम्ली कारमा सेलेरियो र सेन्ट्रोमा कुन किन्ने

काठमाडौं । हुन्डाईको चर्चित ह्याचव्याक कार सेन्ट्रो र मारुती सुजुकीको सेलेरियो नेपाली बजारमा सर्वाधिक सफल बी सेग्मेन्टमा कार हुन् । हुन्डाईलाई भारतीय बजारमा स्थापित गराएको सेन्ट्रोको नयाँ जेनेरेशन २०१९ को फेब्रुअरीबाट नेपालमा आएको हो भने सुजुकी सेलेरियो अत्याधिक रुचाइएको मारुतीको ह्याचब्याक कार सेलेरियो, सन् २०१४ देखि नेपाली बजारमा बिक्री वितरण भइरहेको भएपनि यसको पहिलो फेसलिफ्ट मोडल २०१७ मा नेपाल आएको हो ।

हुन्डाईको लागि नेपालको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्सले ‘अल न्यू सेन्ट्रो’को पाँच भेरियन्ट इरा, म्याग्ना, म्याग्ना एएमटी, स्पोट्ज र आस्टा नेपाली बजारमा बिक्री गर्दै आएको छ । 

नेपाली बजारमा सीजी माेटाे कर्पले सेलेरियोको तीन भेरियन्टको बिक्री वितरण गरिरहेको छ । जसमा भीएक्स आई, जेडएक्सआई र जेडएक्सआई (अप्सनल) रहेका छन् ।

यस्तोमा सेन्ट्रो र सेलेरियो बीच कुन किन्ने भन्ने विषयमा तपाई दोधारमा हुनुहुन्छ भने यसमा भएका फिचरहरुलाई हामीले यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौं । 

इन्जिन

हुन्डाईको सेन्ट्रोमा १.१ लिटर फोर–सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ भने, मारुती सुजुकी सेलेरियोमा १.० लिटर क्षमताको थ्री–सिलिन्डर के–१०–बी इन्जिन दिइएको छ ।

सेन्ट्रोको १०८६ सीसी क्षमताको इन्जिनले ६९ बीएचपी पावर र ९९ एनएम–टर्क जेनेरेट गर्छ भने सेलेरियोमा दिइएको ९९८ सीसी इन्जिनले ६७ बीएचपी पावर र ९० एनएम टर्क जेनेरेट गर्छ ।

यी दुबै कारमा ५–स्पीड म्यानूअल गियरबक्स र एएमटी ट्रान्समिसनमा समेत उपलब्ध रहेको छ ।

माइलेज

भारतीय रिर्सच एजेन्सी एआरएआईका अनुसार मारुती सुजुकी सेलेरियोले प्रतिलिटर २३.१ किलोमिटर माइलेज दिन्छ भने हुन्डाई सेन्ट्रोले प्रतिलिटर २०.३ किलोमिटर माइलेज प्रदान गर्छ ।

मूल्य

नेपाली बजारमा मध्यमवर्गीय परिवारको पहिलो रोजाईमा परेका यी दुबै कार सडकमा राम्रै गुडेको भेटिन्छ । 

सेन्ट्रो इराको मूल्य २२ लाख ९६ हजार, म्याग्ना भेरियन्टको मूल्य २५ लाख ५६ हजार, म्याग्ना अटोमेटिकको मूल्य २८ लाख ९६ हजार, स्पोट्जको मूल्य २७ लाख ५६ हजार र आस्टाको मूल्य ३० लाख ५६ हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी नेपाली बजारमा उपलब्ध सेलेरियोको भीएक्सआई भेरियन्टको मूल्य २३ लाख ९९ हजार र जेडएक्स आई अप्सनलको मूल्य २६ लाख ७९ हजार र जेडएक्सआई एक्स अप्सनलको मूल्य २७ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

डायमेन्सन

लम्बाइको कुरा गर्दा यी दुई कारमा सेलेरियो करिब ८५ एमएमले लामो रहेको छ । सेलेरियोको लम्बाई ३ हजार ६९५ एमएम रहेको छ भने सेन्ट्रोको लम्बाई ३ हजार ६१० एमएम रहेको छ ।

चौडाईमा भने सेन्ट्रो ४५ एमएम फराकिलो रहेको छ यसको चौडाई १ हजार ६४५ एमएम रहेको छ भने सेलेरियोको चौडाई एक हजार ६०० एमएम रहेको छ । दुबै कारको उचाई भने समान एक हजार ५६० एमएम रहेको छ । सेलेरियोको ह्वील बेस २ हजार ४२५ एमएम रहेको छ भने, सेन्ट्रोको ह्वील बेस  २ हजार ४०० एमएम रहेको छ ।

नयाँ सेन्ट्रोमा १४ इन्चको ह्वील दिइएको छ भने, सेलेरियोमा १३ इन्चको ह्वील लगाइएको छ । ग्राउन्ड क्लियरेन्समा दुबैमा समान १६५ एमएम रहेको छ । 

विशेषता

नयाँ सेन्ट्रोमा ७ इन्च टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ । जसमा नेभिगेसन, फोन, यूएसबी कनेक्टिभीटीलगायतको सुविधा रहेको छ । सेन्ट्रोमा एबीएस, ईबीडी, ड्राइभर–साइड एयरब्याग, इन्जिन ईमोबिलाइजर, रियर पार्किङ क्यामेरा वीथ सेन्सर, फगल्याम्प, चाइल्ड–सेफ्टी, डोर–लकजस्ता सेफ्टी फिचर दिइएको छ ।

त्यस्तै, सेलेरियोमा स्ट्याण्डर सेफ्टी फिचरको रुपमा ड्राइभर साइड एयरव्याग, एबीएस, रियर पार्किङ सेन्सर, सिटबेल्ट रिमाइन्डर, स्पीड अलर्ट सिस्टम, चाइल्ड–सेफ्टी आदि रहेको छ । यसमा इन्जिन ईमोबिलाइजर, फगल्याम्प, चाइल्ड–सेफ्टी, डोर–लकजस्ता सेफ्टी फिचर दिइएको छ । 


Back_to_top