प्राधिकरणको क्षमतालाई गिज्याइरहेका चार्जर, ईभीमा सकसपूर्ण हाइवे यात्रा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एशियाली विकास बैंक र नर्वेजियन प्रोजेक्टको सहायतामा निर्माण गरेको ५१ चार्जिङ नेटवर्क काम नलाग्ने अवस्था पुगेको छ ।

यदि, तपाई हाइवे यात्रा गर्दै हुनुहुन्छ र प्राधिकरणको चार्जरले चार्ज गर्ने योजना बनाएर निस्कनु भएको छ भने तपाईले दुःख पाउने निश्चित छ । प्राधिकरणले बनाएको कुनै पनि चार्जिङ सेन्टरमा दुबै चार्जिङ गन चल्तीमा तपाईले पाउनु हुन्न ।

चलेका चार्जर पनि आफ्नो क्षमतामा चार्ज गर्न सक्ने अवस्थामा छैनन् । ६० किलोवाटको ‘चार्जिङ गन’ प्रयोग गर्दा १८ देखि २० किलोवाट क्षमताले मात्रै गाडी चार्ज हुन्छ । डिमान्ड भोल्टेज कुनै पनि चार्जरमा पुगेको पाइदैन ।

काठमाडौंबाट पूर्व जाँदा सिन्धुली, उदयपुर, इटहरी, बिराटनगर, दमक र विर्तामोडमा रहेका कुनै पनि चार्जरमा दुई गन प्रयोगमा छैनन् । उदयपुरको बेलकामा रहेको चार्जर बिग्रेको तीन महिना भयो यहाँ सीसीएस टु र जिबीटी कुनै पनि चार्जर चल्दैन । लहानको अवस्था पनि त्यहि छ । इटहरीमा एउटा गन चलेको छ, लामो लाइन बस्नु पर्छ । विराटनगर, दमक र विर्तामोडको अवस्था पनि त्यहि छ । राती १२ बजेपनि २–३ वटा गाडी लाइनमा भेटिन्छन् ।

वर्दिवास, हरिवन र हेटौंडामा पनि समस्या निरन्तर छ । यो पूर्वी नेपालको मात्र होइन पश्चिम नेपालको अवस्था पनि त्यहि हो । अहिले प्राधिकरणको नाममा तयार भएका यी चार्जरले यसको नेतृत्वलाई गिज्याइरहेको अनुभूति हुन्छ । साथै, विद्युतीय गाडी लिएर हाइवे यात्रामा निस्कनेको लागि निकै सकसपूर्ण भएको छ ।

‘प्राधिकरणलाई अहिलेसम्म यी चार्जर निर्माण कम्पनीले हस्तान्त्रण गरेको छैन । आगामी १५ दिन भित्र हस्तान्त्रण गर्ने तयारी भइरहेको छ । उनिहरुले सबै चार्जर मर्मत गर्दैछन् । त्यसैले अहिले चार्जरमा समस्या आएको हो’, प्राधिकरण चार्जिङ नेटवर्क विस्तार आयोजनाका संयोजक सागरमणी ज्ञावालीले मेरोअटोलाई बताए ।

संयोजक ज्ञावालीका अनुसार चार्जर हस्तान्त्रणपछि तिब्र मर्मत गर्ने टीम तयार हुनेछ । यसरी बन्ने मर्मत टीमले विग्रेको २४ घन्टा भित्र चार्जर दुरुस्त बनाउने छ ।

निजी क्षेत्रको चार्जरमा कोही जाँदैन

निजी क्षेत्रले लगाएका चार्जरको हालत पनि उस्तैछ । विभिन्न कम्पनीले चलाइरहेको चार्जर पनि चल्तीमा छैनन् । साथै, निश्चित कम्पनीले लगाएको चार्जर अन्य ब्राण्डलाई सजिलै दिदैनन् ।

अझ रातीको समयमा निजी चार्जरहरु बन्द हुने, महंगो शुल्क लिने जस्ता कारण सकभर निजी क्षेत्रको चार्जर प्रयोग गर्न उपभोक्ता खोज्दैनन् । यसले गाडी बिक्री गर्ने सेवा नदिने अवस्थाले भयावह अवस्था सृजना हुने देखिन्छ ।


Back_to_top