एमजी-फोर टेष्ट ड्राइभः ब्याट्री र फिचरको आधारमा प्रतिस्पर्धीभन्दा सस्तो

काठमाडौं । एमजी-फोर यूरोपियन बजारमा निकै सफल स्पोर्टी ह्याचव्याक मानिन्छ । लेम्बोर्गिनी उरुसबाट धेरै हदसम्म प्रेरित एमजी-फोरको बाहिरी बनोटले जो कोहिलाई लोभ्याउने छ ।

निकै आक्रमक फ्रन्ट क्लोज ग्रिल, बोनेटको फ्रन्टमा इम्बेड गरिएको एमजीको लोगो, गाडी चल्दा आफैँ खुल्ने एयर ड्याम, आइब्रो डिजाइनमा उपलब्ध डे टाइम रनिङ लाइट जस्ता फिचरले यसको अगाडिको भागलाई उत्कृष्ट देखाएको छ ।

साइड बडी प्यानल निकै उत्कृष्ट देखिन्छ । त्यसमा दिइएको बाक्लो क्लाडिङले थपेको आकर्षण भनिरहनु पर्दैन । १८ इन्चको अलोय ह्वील र त्यसमा दिइएको पृथक ह्वील कभरले धेरैको मन जित्न सफल भएको छ ।

गाडीको पछाडिको भाग पनि उत्तिकै मोर्डन डिजाइनमा तयार भएको छ । वारपार दिइएको कनेक्टेड लाइट बार र त्यसको बीचमा दिइएको एमजीको लोगो निकै सुहाउाँदो छ । स्पोइलरको प्रयोगले यसलाई बाटोमा दौडाउँदा ‘टेकअफ’को लागि तयार जहाजको झल्को प्रदान गर्छ ।

निकै सिम्पल तर, आवश्यक फिचरले भरिपूर्ण क्यावीन यसमा पाउन सकिन्छ । अगाडि सेन्टर कन्सोलमा थुप्रै स्टोरेज पाउन सकिने एमजी-फोरमा फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम र स्क्वायर सेपको इन्स्टुमेन्ट क्लस्टर पाउन सकिन्छ ।

लेदर सिट, सफ्ट टच मेटेरियरको प्रयोग भएको ड्यासबोर्ड, ट्रे डिजाइनमा दिइएको वायरलेस मोवाइल चार्जर र गियर सेलेक्टर निकै स्मार्ट लाग्छ । इन्फोटेन्टमेन्ट सिस्टमको तल दिइएको स्वीच बटमहरुको प्रयोग सहज तरिकाले गर्न सकिन्छ ।

ब्ल्याक इन्टेरियर, ३६० डिग्री क्यामेरा, एमजी पाइलट (एडास) फिचर, यूरो एनक्यापमा फाइभ स्टार क्र्यास टेष्ट रेटिङ यसको बलियो पक्ष हो ।

यस बाहेक पछाडिको यात्रुलाई छुट्टै एसी भेन्ट नदिइनु र अगाडि रहेको प्यासेन्जर सिटमा इलेक्ट्रीक एड्जस्मेन्ट नहुनु यसको कमजोर पक्ष मान्न सकिन्छ । यूरोपियन बजारलाई ध्यानमा राखेर बनाएकाले हुन सक्छ अगाडिका दुई सिट र स्टेरिङमा हिटेट सुविधा छ । तर, सिट कुल्ड गर्ने सुविधा छैन ।

यति दुई कुरा छाडेर गाडी हेर्ने हो भने एमजी-फोर एक ‘भ्यालू फर मनी प्याकेज’ हो । जसले स्टाइल, पर्फमेन्स र लग्जरीको बेजोड मिश्रण बनाएको छ ।

ड्राइभिङ अनुभव

हामीले काठमाडौंबाट बिराटनगरसम्म ड्राइभ गरेका थियौं । काठमाडौंदेखि बिराटनगरसम्मको ३७५ किलोमिटर हामीले चलाएका हौं । यस बीचमा हाम्रो यात्रामा कति चार्ज खर्च भयो भन्ने कुरा गरौं ।

काठमाडौंबाट हिड्दा हाम्रो गाडीमा ९० प्रतिशत चार्ज थियो । हामीले बिराटनगरसम्मको यात्रामा थप चार्ज गरेनौं । बिराटनगरसम्मको यात्रामा पुरा हुँदा हाम्रो गाडीमा दुई प्रतिशत चार्ज बाँकी रहेको थियो ।

६४ किलोवाट आवरको व्याट्रीप्याक रहेको यो ईभीलाई काठमाडौंबाट बराह क्षेत्रसम्म हामीले गाडीमा एसीको प्रयोग गरेका थियौं । तर, बराह क्षेत्रबाट बिराटनगरसम्म भने चार्ज कम भएको कारण एसीको प्रयोग गर्न सकिएन ।

अहिले बजारमा उपलब्ध अधिकांश ६० देखि ६५ किलोवाट आवर क्षमताको ब्याट्री भएका गाडीले दिने रेन्ज उस्तै ४ सय किलोमिटरभन्दा केही बढि हो । रेन्जको मामलामा एमजी-फोर उत्कृष्ट ह्याचव्याक हो ।

यसको स्टेरिङ ह्वील स्पोर्ट कारबाट प्रेरित छ । टुस्पोक ह्वील भएको कारण चलाउँदा केही पृथक अनुभव गर्न सकिन्छ । पावर पनि अन्य गाडीको जस्तै ९९ किलोवाट पीकपावर पाउन सकिन्छ । त्यसैले पावर पनि राम्रो छ ।

मूल्य ४९ लाख ९९ हजार भएको एमजी-फोर फिचर र पर्फमेन्ससँगै ब्याट्री क्षमताको आधारमा सबैभन्दा सस्तो गाडी मान्न सकिन्छ । अहिले बजारमा उपलब्ध ६० किलोवाट आवर माथिका ब्याट्री भएका गाडीको मूल्य ६० लाख रुपैयाँ माथि नै । यसरी हेर्दा यो कार अन्यको तुलनामा १० लाख सस्तो लाग्छ ।


Back_to_top