प्लगइन हाइब्रिडको रेन्ज नै ३०० किलोमिटर

काठमाडौं । प्योर इलेक्ट्रीक, प्लगइन हाइब्रिड, प्योर हाइब्रिड र हाइड्रोजन फ्यूलसेल मध्ये कुन ठिक होला भन्ने विषयमा बेलबखत चर्चा हुने गर्छ । तर, पछिल्लो दिनमा प्लगइन हाइब्रिड टेक्नोलोजीमा धेरै कम्पनीहरुले काम गरिरहेको पाइन्छ ।

चिनियाँ न्यू इनर्जी भेहिकल ब्राण्ड भोयाहले सिंगल चार्जमै ३०० किलोमिटरभन्दा बढी रेन्ज दिने गाडी ल्याएको दावी गरेको छ । सीएलटीसीका अनुसार उसको ‘भोयाह फ्री’ मोडलले सिंगल चार्जमा ३१८ किलोमिटर रेन्ज दिनेछ ।

डोङफेङको प्रिमियम ब्राण्डको रुपमा स्थापना भएको भोयाहले ल्याएको प्लगइन हाइब्रिड भोयाह फ्रीको बिक्री मे ३० तारिखबाट सुरु गर्दैछ । नयाँ एसयूभीको मूल्य ३६ हजार ८५० अमेरिकी डलर रहने बताइएको छ ।

कम्पनीले यसमा ११० किलोवाट क्षमताको १.५ लिटर, फोर सिलिण्डर पेट्रोल इन्जिन दिएको छ । साथै, यसमा २०० किलोवाट क्षमताको मोटर पावर पाउन सकिन्छ । रियर ह्वील ड्राइभ अप्सनमा आएको एसयूभीले ४१० एनएम टर्क प्रदान गर्छ ।

सामसुङ एसडीआईले उत्पादन गरेको निकेल ८ सिरिज ब्याट्री सेल यसमा प्रयोग भएको छ । यसमा फुल ट्याङ्की इन्धन र ब्याट्री फुल चार्ज गरेर चलाउन थाल्ने हो भने १ हजार ४५८ किलोमिटर यात्रा गर्न सकिने कम्पनीको भनाइ छ ।

टप स्पीड क्षमता १८० किलोमिटर प्रतिघन्टा रहेको कारको लम्बाई ४९०५ एमएम, चौडाई १९५० एमएम र उचाई १६४५ एमएम रहको छ । यसमा १९ र २० इन्चको दुई फरक ह्वील पाउन सकिन्छ ।

आधुनिक फिचरहरुले भरिपूर्ण रहेको न्यू इनर्जी भेहिकलमा ४३ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ ।


Back_to_top