काठमाडौं । चेरी अटोमोबाइल ग्रुप अन्तर्गतको क्यूक्यू सहायक ब्राण्ड नेपाल आउने भएको छ । चेरीको पुरानो क्यूक्यू ह्याचब्याक मोडल नाम प्रयोग भएको ब्राण्ड नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक हुने भएको हो ।
चेरीको न्यू इनर्जी ब्राण्ड ओमोडा/जेको र आइकार बिक्री गर्दै आएको एसपीजी अटोमोबाइल कम्पनीले नै क्यूक्यू ब्राण्ड नेपाल ल्याउन लागेको हो । अहिले नेपाल आउने क्यूक्यू थ्री अष्ट्रेलियन स्पेक नै हुनेछ ।
क्यूक्यू चेरीले सन् २००५ देखि उत्पादन थालेको ह्याचब्याक मोडल हो । सन् २००८ ताका नै क्यूक्यू नेपालमा बिक्री भएको थियो । आफ्नो १० लाख युनिटभन्दा बढी उत्पादन भएको ह्याचब्याक मोडल पछि कम्पनीले सन् २०१४ बाट बन्द गरेको थियो ।
क्यूक्यू थ्री इलेक्ट्रीक मोडलको लम्बाइ ४१९५ एमएम, चौडाइ १८११ एमएम र उचाइ १५६९ एमएम छ । यसमा २७०० एमएम लामो ह्वीलबेस दिएको हो ।
चीनमा ‘अल न्यू चेरी क्यूक्यू थ्री’ नाम रहेको ह्याचब्याक कारमा ओभल डिजाइनको हेडलाइट प्रयोग भएको छ । दुई होरिजेन्टल डे टाइम रनिङ लाइट प्रयोग भएको कारको पछाडि पनि ओभल डिजाइनकै टेल लाइट पाउन सकिन्छ ।
इलेक्ट्रीक ह्याचब्याक कार रियर ह्वील ड्राइभमा हुनेछ । यसमा ४१.२८ किलोवाट आवरको ब्याट्री रहने छ । जसको सीएलटीसी रेन्ज ४२० किलोमिटर बताइएको छ ।

नेपाल आउन लागेको क्यूक्यू थ्री ह्याचब्याकमा ९० किलोवाट पीकपावर भएको मोटरमा उपलब्ध हुनेछ । उक्त मोटरको पीकटर्क ११५ न्युटन मिटर छ । चेरीका अनुसार यसमा रहेको ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केबल १६.५ मिनेट लाग्नेछ ।
प्रिमियम ह्याचब्याक सेग्मेन्टमा आउने कारको क्याबिन पनि फिचर लोडेड हुनेछ । यसमा १५.६ इन्चको २.५ के फ्लोटिङ स्क्रीन, ओभल डिजाइनमै तयार भएको एसी भेन्ट, एआइमा आधारित भोइस कमाण्ड, क्वालकमको ८१५५ स्न्यापड्रायन चीप प्रयोग भएको छ ।

कम्पनीका अनुसार यसमा ५० वाटको वायरलेस चार्जर, मोबाइल कनेक्टिभिट, फाल्कनको ५०० एड्भान्स ड्राइभिङ एसिस्ट (एडास) दिइएको छ । २५६ कलरमा छनोट गर्न मिल्ने एम्बियन्ट लाइट उपलब्ध कारमा कनेक्ट फिचर पाउन सकिन्छ ।


