दुई सातामै २०% घट्यो कच्चा तेलको भाउ, नेपालमा भने जतिको त्यति

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा भारी गिरावट आएको छ ।

पछिल्लो दुई सातामै औसतमा २० प्रतिशतले घटेको हो । अमेरिका र इरान बीच जारी युद्ध रोक्ने सहमति भएसँगै कच्चा तेलको मूल्य लगतारा ओरालो लागेको हो । दुई देश बीच यही शुक्रबार जेनेभामा युद्ध रोक्ने सम्झौता हुँदैछ ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायले संयुक्त रूपमा इरान माथि आक्रमण गरेसँगै विश्व बजारमा कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल ११० अमेरिकी डलर माथि पुगेको थियो ।

आयल प्राइस डटकमको तथ्यांक अनुसार पछिल्लो दुई साता (जुन ३ देखि १७ बीचमा) कच्चा तेलको भाउ औसतमा प्रतिब्यारेल १९ अमेरिकी डलर घटेको छ ।

गत जुन ३ तारिखमा प्रतिब्यारेल ९७.८१ डलर रहेको विश्व बेन्चमार्क बे्रन्ट क्रुडको मूल्य घटेर आज ७८.८७ डलर (विहान १२ बजेसम्म) कायम भएको छ । १४ दिनमै ब्रेन्टको भाउ प्रतिब्यारेल १८.९४ डलर घटेको हो ।

त्यस्तै, अमेरिकी बेन्चमार्क डब्लूटीईको मूल्य ९६ डलर रहेकोमा आज अपराह्नसम्म घटेर ७६ डलरमा झरेको छ । त्यसैगरी, मुर्बान क्रुडको भाउ दुई सातामा ९६.८० डलरबाट घटेर ७१.८१ डलरमा झरेको छ । अन्य अधिकांश क्रुड आयलको भाउमा पनि उच्च गिरावट आएको छ ।

विश्व बजारमा दुई सातादेखि लगातार भाउ घटि रहे पनि नेपालमा भने यथावत रहेको छ । नेपालले पेट्रोलियम पद्धार्थ भारतबाट खरिद गरेर ल्याउँछ । इण्डियन आयल कर्पोरेसनले हरेक १५/१५ दिनमा मूल्य सूची पठाउँछ । सोही अनुसार मूल्य समायोजन गर्नुपर्ने व्यवस्था छ । तर, मूल्य बढ्दा तत्कालै बढाइहाल्ने निगमले भाउ घट्दा भने घटाउन आनाकानी गरेको देखिन्छ ।

केही महिना अघि हप्तैपिच्छ मूल्य बढाएको निगमले अहिले विश्व बजारमा तेलको भाउ घट्दा समेत पुरानै मूल्य कायम राखेको हो । निगमले मंगलबार बिहानदेखि कायम हुने गरी १५ दिनका लागि पुरानै मूल्य यथावत रहेको जानकारी दिएको छ ।

विगत केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको उतारचढावका कारण स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसकेको निगमले जनाएको छ । विगतमा भाउ बढ्दा घाटामा तेल बेच्नु परेकाले अहिले उक्त घाटा पूर्तिका लागि मूल्य समायोजन नगरिएको निगमका अधिकारीहरू बताउँछन् । यद्यपि, आगामी दिनमा अझै मूल्य घटेर आए नेपालमा पनि घटाइने उनीहरूको भनाइ छ ।

निगमका अनुसार हाल पेट्रोलको मूल्य पहिलो वर्ग प्रतिलिटर २१४.५० रुपैयाँ, दोस्रो वर्ग प्रतिलिटर २१६ रुपैयाँ र तेस्रो वर्गमा २१७ रुपैयाँ तोकिएको छ । त्यस्तै, डिजेल पहिलो वर्ग २२२.५० रुपैयाँ, दोस्रो वर्ग २२४ रुपैयाँ र तेस्रो वर्गमा २२५ रुपैयाँ तोकिएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगंज, धनगढी र वीरगंजलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दिपायललाई तेस्रो वर्गमा राखेका छ ।


Back_to_top