काठमाडौं । भारतीय बजारमा प्रवेश गर्ने तयारीमा रहेका चेरीका दुई कारले अब्बल रेटिङ पाएका छन् । चेरी आइकार भी २३ र जेटोर टी २ ले आसेन एनक्याप क्र्यास टेस्टमा फाइभ स्टार रेटिङ पाएका हुन् ।
चेरी आइकार भी २३ ले क्र्यास टेस्टमा कुल ९१.०२ अंक प्राप्त गर्दै फाइभ स्टार रेटिङ पाएको हो । यो एसयूभीले वयस्क यात्री सुरक्षामा ३२ मा ३१.७७ अंक, बाल यात्री सुरक्षामा ५१ मा ४२.५ अंक हासिल गरेको छ ।
त्यस्तै, भी २३ ले सुरक्षा सहायता प्रणालीमा २१ मध्ये १८ अंक र मोटरसाइकल चालकको सुरक्षामा १६ मध्ये १४ अंक प्राप्त गरेको छ । भी २३ का सबै भेरियन्टमा ६ वटा एयरब्याग, एबीएस र ईएससी स्ट्याणडर्ड रूपमा उपलब्ध छन्। भी २३ मा थुप्रै एडास सुविधाहरू पनि उपलब्ध छन्। यस वर्ष बजारमा आएको भी २३ नेपालमा निकै चर्चित छ ।
त्यस्तै, जेरीको जेटोर टी २ ले पनि आसेन क्र्यास टेस्टमा फाइभ स्टार रेटिङ पाएको छ । जेटोर टी २ ले कुल ८६.५ अंक ल्याउँदै फाइभ स्टार सेफ्टी रेटिङ पाएको हो ।
जेटोर टी २ ले वयस्क यात्री सुरक्षामा ३२ मा २९.७४ अंक, बाल यात्री सुरक्षामा ५१ मा ४०.६३ अंक, सेफ्टी एसिस्ट सिस्टममा २१ मा १८ अंक र मोटरसाइकल चालक सुरक्षा मूल्यांकनमा ८ मा ८ अंक पाएको हो ।
चेरीको जेको जे ५, जेटोर टी २ र आइकार भी २३ जस्ता एसयूभी चाँडै भारतमा लन्च हुँदैछन् । साथै, जेएसडब्लू मोटर्स र चेरी अटोमोबाइल्सको सहकार्यमा भारतमै सवारी उत्पादन हुने भएको छ । महाराष्ट्रको छत्रपति सम्भाजीनगरमा प्लाण्ट समेत स्थापना भएको छ । जहाँ अगस्ट २०२६ देखि एसेम्बली कार्य सुरू हुनेछ।

