रेनोको रेट्रो डिजाइन ‘ब्रिजर कन्सेप्ट’ इलेक्ट्रीकमा आउने

काठमाडौं । फ्रेन्च कार निर्माता रेनोले मिनी डस्टरको रूपमा बजारमा ल्याउने सब फोर मिटर एसयूभी ‘ब्रिजर कन्सेप्ट’ इलेक्ट्रीकमा पनि आउने भएको छ ।

अटोकार इन्डियाले विशेष रिपोर्ट सार्वजनिक गर्दै नयाँ सब फोर मिटर एसयूभी पेट्रोल, सीएनजी र इलेक्ट्रीक भर्सनमा उपलब्ध हुने दाबी गरेको छ ।

रेनोले केही दिन अगाडि ‘ब्रिजर’ कन्सेप्ट सार्वजनिक गरेको थियो । कम्पनीको नयाँ एसयूभी सन् २०२७ मा बजारमा ल्याउने अटोकारले रिपोर्टमा उल्लेख गरेको हो ।

रेनोले युरोप बाहिर ३ अर्ब युरो लगानी गर्दै आफ्नो उत्पादन बढाउने योजना इन्भेस्टर मिटमा सुनाएको थियो । त्यसैको हिस्सा स्वरूप नयाँ मोडल भारतमा उत्पादन गर्दै निर्यात समेत गर्न लागेको दाबी रिपोर्टमा गरिएको छ ।

रेनोले आफ्नो नयाँ बक्सी एसयूभीमा १.२ लिटर पेट्रोल इन्जिन दिनेछ । यसमा म्यानुअल र सीभीटी गियरबक्स रहने छ । साथै, इलेक्ट्रीक मोडलमा रहने मोटरको बारे कुनै जानकारी प्राप्त छैन । यसमा ब्याट्री भने ३५ किलोवाट आवर र ५५ किलोवाट आवरको दुई अप्सन रहने छ ।

रेनोले भारतमा यही महिनाबाट नयाँ जेनेरेशन डस्टर एसयूभी बिक्री थाल्दैछ । डस्टर एसयूभी फोर ह्वील ड्राइभमा पनि उपलब्ध हुनेछ । नेपाली बजारमा एड्भान्स अटोमोबाइल्सले रेनो डस्टर ल्याउने छ ।

नयाँ सब फोर मिटर एसयूभी पनि बक्सी डिजाइनमा भएको कारण नेपाली बजारको लागि पनि निकै चासोको मोडल बन्न सक्छ । त्यसमा ईभी भएपछि झनै चासो हुनु स्वभाविक हो ।


Back_to_top