काठमाडौं । चीन सरकारले बजारमा बढ्दै गएको मूल्य कटौतीको प्रतिस्पर्धा रोक्ने भएको छ । त्यसको लागि सरकारले नयाँ मापदण्ड निर्माण गरेर कार्यान्वयन गर्न लागेको हो ।
चीन सरकारले आफ्नो बढ्दो निर्यातलाई ध्यानमा राख्दै मूल्य घटाउने प्रतिस्पर्धा रोकेर गुणस्तरीय उत्पादन बनाउने र अटो क्षेत्रको दीर्घकालीन विकासमा लाग्न प्रेरित गर्ने भएको छ । यसले जथाभावि मूल्य तोक्ने अवस्थाको अन्त्य हुने सरकारको दाबी छ ।
चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सले सार्वजनिक गरेको जनवरी २०२६ को कार बिक्रीको डाटा अनुसार चीनमा १६ प्रतिशतले कारको बिक्री घटे पनि चीनमा बनेका कारको निर्यात अघिल्लो वर्षको जनवरीको तुलनामा ४५ प्रतिशतले बढेको छ । जनवरीमा मात्रै चीनबाट ६ लाख ८१ हजार युनिट कार निर्यात भएको थियो ।
चीनमा बनेका कार निर्यात बढेसँगै सरकारले कार उत्पादक र कम्पोनेन्ट उत्पादकलाई मूल्य निर्धारण गर्दा लागतभन्दा तल नझार्न चेतावनी नै दिएको छ । सरकारले बजारलाई नै उथलपुथ बनाउने किसिमले मूल्य निर्धारण नगर्न उत्पादकहरुलाई चेतावनी दिएको हो ।
स्टेट एड्मिस्ट्रेसन अफर मार्केट रेगुलेसन (एसएएमआर)का प्रबत्ता वू पेङले भने, ‘हालैका दिनमा गाडी उत्पादक र डिलरहरूले मूल्यमा स्टायडर्ड कायम गर्न नसकेको र मूल्य घटाउने प्रतिस्पर्धा नै चलाएको कारण सरकारले हस्तक्षेप गर्नु पर्ने अवस्था आयो ।’
प्रवक्ता पेङका अनुसार सरकारले ल्याएको नयाँ निर्देशिकाले उपभोक्ताको हित र अधिकारसँगै बजार व्यवस्थालाई सुदृढ पार्नेछ ।
नयाँ नियमपछि अत्याधिक छुट, अनुदान, गाडी बिक्री गर्न गरिने अनेकौं प्रवद्र्धनात्मक कार्यमा हुने खर्च कम गर्ने लक्ष्य लिएको छ । छुटको सट्टा सवारी साधन उत्पादन र त्यसको लागि आवश्यक पार्ट्स तथा बिक्री गर्न वित्तीय सेवा सहज बनाउने लक्ष्य सरकारले राखेको छ ।


