विश्वकै ठूलो कार बजार आत्मनिर्भर बन्दै

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो कार बजार चीन आत्मर्निभर बन्ने बाटोमा गएको छ । हालै प्रकाशित एक तथ्यांक अनुसार चीन धेरै कार बिक्री हुने, उत्पादन हुने र निर्यात गर्ने देश बनेको छ ।

अहिले चीनमा बिक्री हुने हरेक ४ कारमा ३ चिनियाँ ब्राण्डका हुन थालेका छन् । वार्षिक २ करोड यूनिटभन्दा धेरै कार बिक्री हुने चीनमा न्यू इनर्जी भेहिकलको प्रयोग बढ्न थालेसँगै चिनियाँ ब्राण्डको बिक्रीमा उछाल आएको हो ।

सेप्टेम्बर महिनामा बिक्री भएको २१ लाख ९ हजार कार मध्ये ५३.९ प्रतिशत कार न्यू इनर्जी भेहिकल भएको र त्यसमा अधिकांश बजार हिस्सा चिनियाँ ब्राण्डले पाएको उल्लेख छ । टेस्ला चीनमा निकै राम्रो मार्केट सेयर पाउने अन्तर्राष्ट्रिय न्यू इनर्जी भेहिकल ब्राण्ड बनेको छ । टेस्लाको बजार हिस्सा ६.६ प्रतिशत पुगेको चाइना प्यासेन्जर कार एशोसिएशनले जनाएको छ ।

प्रिमियम र लग्जरी ब्राण्डमा अहिले पनि पेट्रोलियम पदार्थबाट चल्ने कारकै वर्चश्व रहेको एशोसिएशनले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । समग्रमा न्यू इनर्जी र पेट्रोलियम पदार्थबाट चल्ने कार मिलाएर चिनियाँ ब्राण्डको हिस्सा ७४.९ प्रतिशत पुगेको हो ।


Back_to_top